Shittalpati
बाढी–पहिरोको क्षति, हाम्रो नियति

नेपालमा बर्सेनि हुने प्राकृतिक प्रकोपअन्तर्गत मूलतः बाढी र पहिरो पर्ने गरेको पाइन्छ । बर्सेनि दर्जनौं बेपत्ता हुन्छन् अनि उस्तै संख्यामा मृत्युसमेत हुने गरेको पाइन्छ । प्रायः तराईतिर बाढीको बढी जोखिम हुँदा पहाडी भेगमा पहिरोको डर उच्च रहन्छ । २०७२ सालको भूकम्प होस् या हरेक वर्षको बाढी पहिरो—नेपालमा प्राकृतिक प्रकोपले सधैं सताइरहेको देखिन्छ । समुन्द्री क्षेत्रबाट टाढा भएको हुँदा भुमरी,आँधीजस्ता विपद्बाट टाढा रहे तापनि अन्य प्राकृतिक प्रकोपको सिकार नेपाल सधैं बन्दै आएको छ । बर्खाको समयमा बाढी–पहिरो लगायतका जोखिम बढी हुन्छ । हाम्रो भूगर्भ, पहाडको बनोट, प्रकृति, भूगोल र वर्षाको चरित्र लगायतका कारण पहिरो स्वाभाविक हो । पछिल्ला वर्षहरूमा विपद्को क्रम बढ्न थालेको छ । प्राकृतिक र मानवीय कारणले विपद् हुने गर्छ । यसै त हाम्रो पहाडको भौगर्भिक संरचना कमजोर छ । त्यसमा २०७२ को भूकम्पले झन् कमजोर बनाएको छ । यस वर्ष पनि मंगलबारदेखिको निरन्तर वर्षका कारण देशका धेरै ठाउँहरुमा बाढी, पहिरोका कारण सयौं घरहरु विस्थापित भएका छन् । विगतको नियति अहिले पनि नेपालीले भोग्नु परेको छ ।

पछिल्लो समय मुलुकभर जथाभावी सडक खन्ने होड नै चलेको छ । जसले गर्दा बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको हो । आगलागी होस् या पहिरो, बाढी होस् या भूकम्प— बाजा बजाएर आउँदैन, त्यस प्रकारको विपद् आइपरेमा के–कस्तो तयारी गर्ने भन्ने विषयमा पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो । तर नेपालमा आइपरेपछि मात्र हारगुहार गर्ने चलन छ, जसले गर्दा ठूलो क्षति भोग्नुपर्ने अवस्था छ । बाँध निर्माण गर्ने काम होस् वा आगो निभाउने र पहिरो व्यवस्थापन गर्ने यन्त्रहरू कहिले प्राथमिकतामा पर्दैनन्, जसले गर्दा क्षति सधैं अपेक्षितभन्दा बढी नै हुने गरेको छ । यस वर्ष पनि मनसुन सुरु हुनुअगाडि नै जोखिमको मूल्यांकन भएकै थियो, तर केही पनि तयारी भएन, फलस्वरूप देशभर सयौं घरहरु विस्थापित हुन पुगेका छन् भने कयौं घरहरु जोखिममा परेका छन् । विपद्को पूर्वतयारी नहुँदा सधै बाढी–पहिरोको पिडामा नेपाली नागरिक पर्ने गरेका छन् । हरेक वर्ष यस प्रकारको प्राकृतिक विनास गर्ने विषयमा सरकार अनभिज्ञ छैन । समयमै पूर्वतयारी नगर्दा वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । मनसुन शुरू हुनासाथ आएको बाढी–पहिरोले गरेको क्षतिले आगामी दिनमा अझ बढी समस्या थप्न सक्ने देख्निछ । यसर्थ स्थानीय, प्रदेश र संघीय सरकारले यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ ।

 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update