Shittalpati
धान दिवसको सार्थकता

नेपालमा हरेक वर्षको असार १५ मा धान दिवस मनाउने गरिन्छ । यसलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिनमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ । यसले मौसम, भोजन, कर्म र रमितालाई धाने संस्कृतिको रूपमा एकाकार गर्ने गरेको छ । मुठ्ठी रोपेर मुरी फलाउने समय भएकाले पनि किसानलाई यति बेला भ्याइ नभ्याई छ । यो अवसरमा किसान घरमा गएर खाना खाई आउने समय पनि नहुने भएकाले खेतकै आलीमा बसेर दही चिउरा खाएर पर्वको अवसरलाई गुम्न दिँदैनन् । त्यसो त पर्वका रूपमा हिलोसँग खेल्न पाउँदा हली, खेताला, रोपाहार र बाउसे निकै रमाउँदै काम गर्दा मेलो सकिएको र समय बितेको पत्तै पाउँदैनन् ।

धान खेती नेपालको पुरानो अन्न खेती हो । तथापि, नेपालको भौगोलिक विविधताका कारण हिमाली, पहाडी तथा तराईमा धानको रोपाइँ एउटै समयमा हुँदैन । नेपालको धानखेती आकाशे सिंचाइमा निर्भर छ । वर्षा राम्रो नभएको समयमा नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । धानको उत्पादन बढाउने उद्देश्य अनुरुप नै नेपालमा धान दिवस मनाउने गरिन्छ । खाद्यान्नको प्रमुख बालीको रुपमा रहेको धान दिवस मनाउनु राम्रो कुरा हो । यद्यपि धान दिवसको बेला खेतमा टेक्दैमा दिवसले सार्थकता पाउँदैन । वास्तविक किसानले जबसम्म दिवसको महत्व बुझ्दैनन् तबसम्म दिवस केवल मनोरञ्जनका लागि मात्र हुनेछ । वर्षभरी खेत नटेक्ने तर दिवसको बेला के–के नै काम गरे जसरी हिलाम्य हुने प्रथाले समग्र दिवसलाई मनोरञ्जनको माध्यम बनाएको छ ।

सरकारी उदासीनताका कारण किसानहरुको खेतीपातिप्रति आकर्षण घट्दो छ । जसका कारण खेतीयोग्य जमिनमा प्लटिङ गरिएको छ भने केही बाँझै छन् । प्रमुख खाद्यान्न बाली धान खेतीलाई पर्वको रूपमा मनाउँदै जीवन्तता दिने गरिए पनि व्यवहारमा भने किसानका समस्या कम पीडादायी छैनन् । मनसुन सुरु भइसक्दा पनि धानखेतमा प्रयोग गरिने रासायनिक मलको सधैं अभाव झेल्नु परेको छ । खेती गर्नुपूर्व सक्कली धानको बीउ नपाइनु, खेतीका लागि आवश्यक आर्थिक परिचालन गर्न पुग्ने सहुलियत कृषि ऋणको अभाव हुनु, चर्को मिटर ब्याजको फन्दामा पर्नु, जनशक्ति अभावका कारण समयमै खेती गर्न नसक्नुजस्ता समस्या किसानले भोग्नु परेको छ । हेर्दा धान खेती र धान दिवसको जुन रोमाञ्चकारी सकारात्मक स्वरूप देखापर्दछ, भित्रभित्र भने किसान निकै मारमा परिरहेका हुन्छन् । किसानका यी दुःख र पीरमर्कालाई सरकारले यथासमयमा सम्बोधन गर्न सके मात्र धान दिवसको सार्थकता रहने छ । अन्यथा दिवस औपचारिकतामा मात्र सिमिति हुन पुग्दछ ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update