Shittalpati
कोरोनाको कहरमा ‘जात्रा’

कोरोना महामारीका बीच हजारौं मानिस भेला भएर मनाईने धर्म र सांस्कृतिक महत्व बोकेका अधिकांस चाडपर्व तथा जात्राहरु सामान्य हिसावले मनाउन थालिएको छ । काठमाडौं उपत्यकालगायत नेपालभर मनाईने विभिन्न खालका जात्रा र पर्व विगत दुई वर्षदेखि पूर्ववत रुपमा मनाउन र सञ्चालनमा आउन सकेका छैनन् । यस्तैमा सोमबार गाई जात्रा र आज रोपाइँ जात्रा परेको छ । ऐतिहासिक जात्राका रुपमा रहेका यी जात्रा पर्वहरु यसअघिका वर्षहरुमा हुन्थ्यो भने निक्कै धुमधामका साथ मनाईँथ्यो । तर विगत दुई वर्षदेखि कोरोना महामारीका कारण यी जात्राहरु औपचारिकतामा मात्र सिमित बन्न पुगेका छन् ।


कला संस्कृति र परम्परामा हामी निकै धनी छौं । वर्षभरि अनेकथरी चाडपर्व, जात्रा र पर्व मनाइरहन्छौं । यिनै संस्कृतिले हामीलाई एक हुन सघाउँछ । अझ नेपाल त जात्रैजात्राको देश हो । पाल्पा, काठमाडौं, भक्तपुर, ललितपुर र कीर्तिपुरमा वर्षभरि अनेक तरहका जात्रा पर्व आयोजना भइरहन्छन् । विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण भने यी शहरमा हुने जात्रा पर्वहरु भने विगतमा जस्तो धुमधाम र हर्सोउल्लासका साथ हुन सकेका छैनन् । कोरोना भाइरस फैलनुको मुख्य कारण मानिसहरुको भीडभाड र भेला नै भएको निष्कर्षसहित विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न र आवश्यक सुरक्षा सावधानी अपनाउन भनेकाले पनि यी जात्राहरुमा मानिसहरुको सहभागिता न्यून हुन पुगेको छ । जात्रा पर्वहरुको दोस्रो शहरका रुपमा चिनिने पाल्पामा सोमबार न्यून मानिसहरुको सहभागितामा गाईजात्रा पर्व मनाइएको छ । जात्रा पर्व आफैमा संस्कृतिका धरोहर हुन् । तर पछिल्लो समय यी संस्कृतिका धरोहरहरु विस्तारै हराउन थाल्नु दुखद् हो । पाल्पामा गाँठे मंगलदेखि जात्रापर्वहरु सुरु हुने गर्दछन् । गत वर्ष पूर्ण रुपमा बन्द रहेका यहाँका जात्राहरु यस वर्ष सरकारले स्वास्थ्य मापदण्डको पालना गरी न्यून सहभागितामा मनाउन भनि देशैभर सार्वजनिक विदा दिएकाले पनि छिट्टाफुट्ट रुपमा जात्रा निकालिएको छ । पाल्पामा विगतदेखि नै गाई जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, ऐतिहासिक भगवती जात्रा जस्ता महत्वपूर्ण जात्राहरु हुँदै आएका छन् । तर कोरोना महामारी र आधुनिकताका कारण भने जात्राहरुको रौनक घट्दै गएको छ । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको हो । जिल्लाको गहनाका रुपमा रहेका यी संस्कृतिहरुको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भए पनि यसतर्फ खासै चासो दिएको देखिदैन । यो अत्यन्त दुःखको कुरा हो । जात्राहरु धार्मिक, साँस्कृतिक र मनोरञ्जनसँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई यसतर्फ आर्कषित गर्न सकिएको छैन । जसले गर्दा पनि यहाँका जात्रा, पर्वहरु विस्तारै लोपउन्मुख अवस्थामा पुगेका छन् । जात्राको आफ्नै छुट्टै पहिचान भएकाले पनि यसको संरक्षणमा सबै जुट्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update