Shittalpati
विपत् व्यवस्थापनको पूर्वतयारी गर

जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको बताउँदै आएको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि मनसुन सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आँकलन छ ।
विभागले मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ । बर्खा लागेसँगै हरेक वर्ष नेपालमा जनधनको ठूलोक्षति हुने गरेको छ । बाढी,पहिरोका कारण धेरै नेपालीले अकालमै ज्यान गुमाउनुको परेको छ । यसको पूर्व तयारी नभएकै कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्न बाध्य छ । विपत् बाजा बजाएर नआउने भएकाले यसको पूर्व तयारी अत्यन्त आवश्यक रहने गर्दछ । गएका पाँच वर्षको मनसुनकालमा मात्रै पहिरोबाट ६ सय ४४ जनाको ज्यान गएको छ । यसरी नै बाढीबाट सोही अवधिमा चार सय ३३ जनाको ज्यान गएको छ । बस्तीका बस्ती उठिबास लाग्ने अवस्था आउनु नेपालीको एउटा नियतिजस्तै भएको छ । पहाडमा बाढीपहिरो र मधेसमा डुबान वर्खामासमा दोहोरिइरहने प्राकृतिक विपत्ति हुन् । वर्षाले विनाश निम्त्याएपछि हारगुहार मच्चाउनुभन्दा पूर्वतयारी गरी अहिलेको विपत् व्यवस्थापनसम्बन्धी संस्था र स्थानीय सरकारलाई बलिया र उत्तरदायी बनाउनु जरुरी छ । २०७२ वैशाखको भूकम्पले अधिकांस जिल्लाका जमिन खलबलिएको छ । खलबलिएकै कारण ति क्षेत्रका बस्तीहरू अझै पनि जोखिममा छन् । सरकारले बस्ती स्थानान्तरणका भरपर्दा विकल्प र योजना ल्याउन नसक्दा यस्ता क्षेत्रका कैयौँ नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको छ । बाढीपहिरोको जोखिमबाट आफ्ना नागरिकलाई जोगाउने दायित्व सरकारको हो । अहिले पनि जोखिमयुक्त क्षेत्रहरू बाढी र पहिरो तथा डुबानका समस्यामा पर्न सक्ने चेतावनी सरोकारवाला निकायबाट जारी भइसकेको छ । यस्तो अवस्थामा उद्दार, राहत र पुनस्र्थापनाका लागि आवश्यक पर्ने नीतिगत, संस्थागत र व्यवस्थापकीय पूर्व तयारी गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update