Shittalpati
तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम

पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस पाल्पा शाखाले तानसेनमा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।

रेडक्रसले तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्तर्गत तालिम दिएको छ । तालिममा प्राथमिक उपचार सीप, घाइतेको जाँचको चरणहरु, बेहोसी, रक्तश्राव, क्षोभ, हाड भचाई, पट्टीहरुको प्रयोग, मेरुदण्डको चोट, ओसार–पसार लगायतका महत्वपूर्ण सीपहरुको विषयमा सिकाईएको थियो । तालिममा २४ जनाको सहभागिता रहेको रेडक्रस पाल्पाले जनाएको छ । ४ दिनसम्म सञ्चालन भएको तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको छ । तालिमको तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले समापन गरेका हुन् । तालिमको समापन गर्दै नगर प्रमुख शाहीले मानविय जीवनमा प्राथमिक उपचार सीप अत्यन्तै महत्वपूर्ण हुने भएकाले रेडक्रसले सञ्चालन गरेको कार्यक्रम अत्यन्त उपयोगी र महत्वपूर्ण रहेको बताए । उनले रेडक्रस संस्था विरामी वा घाइतेको साहराको रुपमा रहेकाले स्थानीय सरकाले रेडक्रससँग सहकार्य गर्दै अगाडि बढेको र आगामी दिनहरुमा पनि निरन्तर सहकार्य र समन्वय गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकासँग जोडिएर परियोजना सञ्चालन गरेकोमा रेडक्रसलाई नगर प्रमुख शाहीले धन्यवाद दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रका उपनिर्देशक एवं प्राथमिक उपचार महाशाखाका प्रमुख शिवराम गौतमले रेडक्रसको महत्वपूर्ण सीप मध्ये प्राथमिक उपचार सीप रहेको बताए । उनले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रथामिक उपचारका तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिए । आगामी दिनहरुमा पनि आवश्यक परेको अवस्थामा रेडक्रसले स्वयंसेवी रुपमा अन्य तालिमहरु समेत दिने बताए । कार्यक्रममा शाखाका मन्त्री केशवप्रसाद पौडेल, बरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, केन्द्रका कार्यक्रम संयोजक राजु राउत समेतले आफ्नो धारण राखेका थिए । तालिममा सहभागीहरुलाई बाबुराम कार्की, राजु राउत, विनोद भारती, पदमराज पौडेल र संजित थापाले प्रशिक्षण दिएका थिए । शाखाका सभापति बुद्धिप्रसाद शर्माको सभापतित्व र कार्यक्रम अधिकृत विनोद भारतीको सञ्चालनमा तालिम समापन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update