Shittalpati
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं

गुणवती के.सी.
तानसेन–११, बन्दीपोखरा
नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्‍याएको छ । नेपाली संस्कृतिमा देखिएको विविधता समस्याको रुप नभइ एकताको रुप सौन्दर्यको आधार हो । नेपालमा अनेक जाति, जातिका भाषा संस्कृति छन् । तिनका आ–आफ्नै परम्परा छन् । सबैमा परम्परा, एकता, सहिष्णुता, परोपकारको भावना, सभ्यता, शिष्टता, सम्मान छ । सबै धर्म संस्कृतिको सार आधार एउटै छ । तसर्थ विविधताभित्रको एकता नेपाली संस्कृतिको मुल खम्बा हो । सबै कल्याण गर्नु, सहयोग मित्रताको भावना राख्नु, शिष्ट आचरण, सभ्यता, सद्भाव, सेवा, सहकार्य, सुख–शान्ति आदि नेपाली संस्कृतिका मुख्य मुख्य विशेषता हुन् । तर ति विशेषताहरुको सही प्रयोग गर्न नसक्दा विकृतिका रुपमा समेत देखा परेका छन् । संस्कृतिका नाममा कयौं विकृतिहरु हाम्रो नेपाली समाजमा भित्रिएको पाइन्छ । महाशिवरात्री पनि हिन्दू धर्मको प्रमुख पर्वहरु मध्येको एक हो । यसका पनि छुट्टै विशेषता र महत्व रहेको छ । तसर्थ माहाशिवरात्री पर्व, यसको संस्कृति र विकृतिका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

हिन्दुहरुको पर्व मध्य महाशिवरात्री पर्वलाई पनि एक महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । यस वर्षको शिवरात्री पर्व बिहीबार देशभर मनाईएको छ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री भगवान शंकर ब्रÞमाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रÞमाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्री भनिन्छ ।
फागुन कृष्ण पक्षको चौधौ दिन अर्थात् चन्द्रमास चोधौं दिन पछिको नयाँ चन्द्र उदाउनु पर्वको रातलाई नै शिवरात्री पर्व भनिन्छ । वैदिक नेपाली सनातन संस्कारमा हुर्केको हाम्रो समाज अध्यामिक, साँस्कृतिक तथा धार्मिक आस्थाको पवित्र भूमि हो । पृथ्वीको उत्पतिदेखि नै अली र अन्तले विभाजन गर्न नसक्ने शक्तिको रुपमा भवान शिवलाई मानिन्छ । सारा ब्रÞमाण्डको श्रृष्टि गर्ने शक्ति शिवमा छ । यो ब्रह्माण्ड हावा, पानी, माटो, आगो र आकाश पञ्चतत्वले बनेको छ । यही पञ्चतत्वबाट ब्रह्माण्ड चलेको छ । यो सबै कुरा शिव तत्वबाट आउने शास्त्रमा उल्लेख गरिएको छ । ब्रह्माण्ड एक र भगवानका रुप अनेक छन् ।

शक्तिका प्रतिक भगवान शिव कैलाश पर्वतका रुपमा अचल, अजर र अमर हुनुहुन्छ । वर्तमान समयमा विज्ञानले सावित गरेको योग र साधनाको पर्यायका रुपमा पनि भगवान शिवलाई लिन सकिन्छ । भगवान शिवका भक्तहरुले योग, तपस्या गरी मनलाई शान्त बनाएका थिए रे ! फलस्वरुपः अहिले पनि भगवान शिवले जस्तै योग, तपस्या, साधना गरी साधु सन्तका रुपमा जीवन व्यक्तित गर्नेहरु पनि थुप्रै भेटिन्छन् । यसरी देवताहरुका पनि देवता आराध्यदेव पशुपतिनाथमा पनि शिवरात्रिको दिन विशेष पुजा आर्चना हुने गर्दछ । देश विदेशबाट उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्दछन्, भने स्थानीय शिव मन्दिरहरुमा पनि शिवको वर्त, पुजापाठ, भजकृर्तन हुने गर्दछ । भगवान शिवको रिसाहा रुप भैरव हो भने छिट्टै खुशी हुने नाम आशुतोष हो । यसरी भैरव आशुतोष, शंकर, भोलेनाथ, निलकण्ठ, महादेव जस्ता भगवान शिवका नाम धेरै छन् ।

स्वथानी ब्रतकथा पनि शिव महिमाकै एक अंश हो दक्ष प्रजापति नामका प्रतापी राजाकी छोरी सतिदेवीलाई भगवान शिव माग्न जानुभएछ । नागको माला, बागको छाला लगाउने, निधारमा खरानीको तेस्रो चन्दन घस्ने, विस भाग, धतुरो खाने यस्तो शिव जी रुप देखेपछि मेरी यति राम्री छोरी त यस्तोलाई दिन्न भनी दक्ष प्रजापतिले भगवान शिवलाई घृणा गरे छन् । शिवजीलाई बडो चिन्ता परेछ । यो कुरा नारदमुनीले थाहा पाएपछि फेरि भगवान विष्णुसँग सल्लाह गरी दक्ष प्रजापति कहाँ पुगेर सतिदेवी मलाई दिनुहोस् भन्नुभएछ । भगवान विष्णुको बचन हार्न नसकेर आफ्नी कन्या भगवान विष्णुलाई दिने निधो गर्नुभएछ । दक्ष प्रजापतिले आफ्नी कन्या विष्णुलाई कन्यादान गरी दिन लाग्दा भगवान शिवजी पुग्नुभएछ । भगवान शिव र विष्णु बिच पहिलै भएको सल्लाह अनुसार शिवजीको हातमा सतिदेवीलाई कन्यादान भई बिवाह भएछ । त्यसपछि दक्ष प्रजापति र उनकी श्रीमती विरणी रिसले चुर भई कपटी विष्णु भनी गाली गरे । यता भगवान शिवले सतिदेवीलाई लिएर कैलास पुगे ।

केही समय पछि दक्ष प्रजापतिले आफ्नो घरमा ठूलो अश्वमेघ यज्ञ लगाए । सबैलाई बोलाए पनि सतिदेवीको पछि लागेर शिवजी आउँछन् र बेइजत गर्छन् भन्ठानेर सतिदेवीलाई बोलाएनन् । नारदले यो कुरा सुनाए । सतिदेवीले बाबाको घरमा यज्ञ हेर्न जाउँ भनिन् । नबोलाएको ठाउँमा जानु हुँदैन अपमान हुन्छ प्रिय भनेर भन्दा पनि शिवजीलाई एक्लै छोडी यज्ञमा पुगिन् । तेरो श्रीमान यस्तो उस्तो भन्दै नाना तवरले आफ्नो पतिको निन्द्रा गरेको सहन नसकी यज्ञ कुण्डमा हाम फालिन् । उनको प्राण उडेर हिमालय पर्वत र मेनकाको गर्भमा बास लिइन् । उनको शरीर जलेन शिवजीले यो कुरा थाहा पाइ सतिदेवीको लाश बोकेर ब्रÞमाण्ड परिक्रमा गरे ।

जहाँ–जहाँ सतिदेवीको अंग पतन भयो त्यहाँ शक्ति पिठहरु उत्पन्न भए । समय बित्दै जाँदा हिमालय पर्वत र मेनकाको गर्भबाट पार्वतीको जन्म भयो । पार्वती सानैदेखि महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई खेल्थिन्, पुजा गर्दथिइन् । पछि गएर शिवजीसँग पार्वतीको बिवाह भएको कथामा पाइन्छ । यस्ता शक्तिका प्रतिक देवादिदेव महाकवी शिव भगवानको ब्रत पुजा आराधनाले मनोकामना पुरा हुने शक्ति मिल्ने विश्वास छ । तथापी भगवान शिवले झै भाङ धतुरो गाँजा खाई हिड्ने, खरानी घस्ने, साँधुसन्त जस्तो भई शिवकै रुपमा हिड्यो भने हाम्रो समाजमा राम्रो मानिदैन । भगवान शिवको जस्तो रुप धारण गर्नु भनेर कतै आशिष दिइएको पनि पाइदैन । भगवानका नामबाट समाजमा मानिसहरुले कतै आफ्नो मनोमानी पनि गरिरहेका हुन्छन् । भगवान निर्वस्त्र हुनुहुन्छ । तर कतिपय भक्त, बाबा हुँ भन्नेहरुले अंग देखाउँदै हिड्ने, गाँजा भाङ, धतुरो खाएर जिस्किँदै हिड्ने, पागलपन देखाउने जस्ता क्रियाकलापले सामाजिक विकृति पैदा गर्दछ । दुर्घटना निम्त्याउँछ । गतवर्ष शिवरात्रीमा शिवजीको बुटी भन्दै हलुवासँग मिसाइएको घट्ट खाएपछि तानसेन ११ बन्दीपोखराका ४२ वर्षिय (रमेश राउत) घर जाने क्रममा लडेर खुट्टा भाँचियो । मिसन अस्पतालमा ४० हजार बराबरको खर्च उपचारपछि निको भए । यसैगरी विगत वर्षमै ता.न.पा. ११ बन्दीपोखरा कै १२/१३ वर्षका केटाहरुले शिवजी खुशी हुन्छन् भन्दै धतुरो खाई बेहोस भए । मिसन हस्पिटलमै केही दिनको उपचारपछि निको भए । यस्ता घटनाहरु त उदाहरण हुन् । अझ धेरै पनि हुन सक्छन् । तसर्थ हाम्रा संस्कृतिसँगै आउने विकृति र दुर्घटना बारे हामी सबै होसियारी हुन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update