Shittalpati
महाशिवरात्री र यसको महत्व

महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् ।

शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्री भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेका थिए । यसैले यस दिनलाई महाशिवरात्री वा कलरात्री भनिन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् । धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरणको प्रतिक हुन । जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनु पर्दछ । साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रतलिनु पर्दछ । शिवरात्री त्यो रात्रि हो, जसमा शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अतिप्रियरात्रिलाई शिवरात्री भनिन्छ । शिवरात्रीको दिन शिव आराधनाको विशेष महत्व छ । शिवजीको आराधनामा जति महत्व अभिषेकको हुन्छ, उत्तिनै महत्व महामृत्युंजय मन्त्रको पनि हुन्छ । शिवजीको आराधना महामृत्यंजय मन्त्र बिना अपूर्ण हुने धार्मिक मान्यता छ । शास्त्र अनुसार फागुन मासको कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्री पर्व पर्ने गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update