Shittalpati
मैले चिनेको ब्रह्म दाई

मदन देउराली
“जानै लाग्यो जानै लाग्यो मेरो दुई दिनको जिन्दगी जानै लाग्यो ।’’
यो गीतको बोल थियो बरिष्ठ कलाकार, समाजसेवी ब्रह्म शेखर बज्राचार्यको । केही समय अगाडि मात्र मित्र महेश देउरालीले आफ्नै घरमा बोलाएर रेकर्डिंङ्ग गरेको यो गीत अब भिडियोलाइज मात्र गर्न बाँकी थियो तर उहाँले भने जस्तै जानै लाग्यो मेरो दुई दिनको जिन्दगानी जानै लाग्यो, अन्ततःकाम पूरा नहुँदै उहाँको दुई दिनको जिन्दगानी गयो ।

अब त्यो काम कहिले पूरा हुनेछैन, अब त्यो आवाज फेरि कहिले सुनिने छैन । यो त शास्वत सत्य हो कुनै पनि प्राणी जन्मेपछि एकदिन मर्नै पर्छ । यो नश्वर देह एकदिन विलिन हुनै पर्छ  । यो त प्रकृतिको नियम नै हो । यहाँ कोही पनि अमर छैनन् । तर आफ्नो जीवनकालमा गरेका सुकर्म नै पछिसम्म सम्झिने हुन्छ । मैले ब्रह्म दाईलाई विसं २०२४ सालदेखि चिनेको हुँ एउटा कलाकारको नाताले । राम्रो नाच्नु हुन्थ्यो । त्यसबेलाका मेरा मित्रहरु गोविन्द, सुखराम (बुन्के), महेश, भरत, मीन बहादुर केसी, राजेन्द्र गोविन्द, सूर्यमान, भरत, किशोर, अमोद आदि मिलेर प्रत्येक वर्ष गुनु पुन्हीको बेला झण्डै नौ दिनसम्म छोकडा नाँच निकाल्थ्यौं । त्यो बेला महिलाहरु घरबाट बाहिर निस्कन पाउँदैनथे । त्यसैले केटालाई नै केटी बनाई नचाउनु पथ्र्यो । हामीले महेशलाई केटी बनाउँथ्यौ भने जोकरमा मीन बहादुर केसी, सूर्यमान आदि हुन्थे । त्यसबेला ब्रह्म दाई आएर नाँच्न सिकाउनु हुन्थ्यो । त्यसैबला देखिको हाम्रो संगत उहाँ जिवित हुँदासम्मै रÞयो । यो संगत पछि झन झन् बाक्लिदै गईरहेको थियो कलाकारको नाताले पनि । उहाँ हाम्रो अग्रज हुनु हुन्थ्यो उमेरको हिसाबले तर पनि म, महेश, चित्रवलि साथीभाई जस्ता थियौं । हामीले उहाँलाई ब्रह्म दाई नै भनेर सम्वोधन गर्थो भने उहाँले धेरैजसोलाई प्यारो सम्बोधन डल्ला भन्ने गर्नु हुन्थ्यो भने मलाई, महेशलाई, चित्रवलीलाई माष्टर अनि मीन बहादुर केसीलाई ठूलो माष्टर भन्ने गर्नु हुन्थ्यो ।

मेरो बुबा शास्त्रीय संगीतको वस्ताज हुनुहुन्थ्यो त्यसैले सानै उमेरदेखि मैले सांगीतिक वातावरणमा हुर्कने मौका पाएँ । मलाई सानै उमेरमा बुबाले हर्मोनियम सिकाउनु भएको थियो । त्यसैले पनि उहाँले मलाई पनि कलाकारको नाताले माया गर्नु हुन्थ्यो । उहाँ मेरो बुबाको सांगीतिक कलाप्रति अत्यन्त प्रभावित हुनुहुन्थ्यो । किनकी बुबा रागहरु गाउनुका साथै हर्मोनियम, तबला, गितार, भायलिन सबै बजाउनु हुन्थ्यो । त्यसैले तपाईको बुबा खास कलाकार हुन् भनि मलाई बारम्बार भनि राख्नु हुन्थ्यो । शायद यसैले पनि होला म प्रति उहाँको लगाव धेरै भएको मैले पाएको थिएँ । युवा अवस्थामा उहाँ केटी जस्तो देखिने भएकाले उहाँ केटी भएर नै नाच्नु हुन्थ्यो । आनन्द विहारद्वारा प्रदर्शित बुद्ध दर्शन नाटकमा उहाँ केटी भएर समूहमा नाच्नु भएको मैले देखेको छु किनकी त्यसबेला सो नाटकमा म हार्मोनियम बजाउँथे । विसं २०३९ सालदेखि म आफ्नो कामको सिलसिलामा बाहिर लागें । त्यसपछि मेरो उहाँसँगको भेट २०७० तिर म पुन घर फर्के पछि बल्ल भयो ।

त्यसबेला उहाँले आफ्नो अध्यक्षतामा तानसेन भजन संरक्षण समिति बनाई प्रत्येक शनिबार विहान श्री रणउजीरेश्वरी भगवती भन्दिर प्रांगणमा भक्तजनहरु जम्मा गरी पुराना भजन गाउने गर्नु भएको रहेछ । मलाई पनि उहाँले भजनको लागि नियमित आउन भन्नुभयो । उहाँले भन्नु भएकाले म नियमित जसो जान थाले । उहाँ तबला बजाउने म हार्मोनियम बजाउने गर्दा उहाँ अति नै खुसी हनुहुन्थ्यो किनकी उहाँको र मेरो बजाई मिल्थ्यो त्यस्तै महेशको बजाईसँग पनि उहाँ खुसी हुनुहुन्थ्यो अनि हामीलाई जहिले पनि आउन भन्नु हुन्थ्यो तर हामी पछि कहिलेकाही मात्र जान थाल्यौ । हामी नआउने भएकाले कहीं भेट भयो कि शनिबार आउनु है भनि हाल्नु हुन्थ्यो । म, महेश, चित्रवली ंसँग भेट भयो कि उहाँ गीत गुनगुनाउन थालि हाल्नुहुन्थ्यो । उहाँलाई नारायण गोपाल, फत्तेमान, भक्तराज आचार्यको गीत खुब मन पथ्र्यो । कतिपय मीत्रसेन थापाको गीत तथा त्यसबेलाका पुराना गीतहरु पनि धेरै उहाँलाई आउँथ्यो र बराबर हामीलाई सुनाउनु हुन्थ्यो । हामीले पनि ति पुराना गीतहरु रेकर्ड गरी राख्नुपर्छ है भनेर उहाँलाई अनुरोध गथ्र्यौ । उहाँको स्वर अत्यन्त तिखो थियो । महिला स्वर जस्तो थियो, त्यसैले हाई स्केलमा पनि उहाँ मजाले गाउन सक्नुहुन्थ्यो । लेटस कलर पाल्पाले आयोजना गरेको सांगीतिक कार्यक्रममा उहाँलाई मैले र महेशले हार्मोेनियम र तबलामा साथ दिएका थियौ ।

कार्यक्रममा उहाँले एउटा भएपनि गीत गाउँछु भनेकाले दुईदिन जति हार्मोनियम तबलामा तालिम गरियो । सबै सेट ग¥यो र यो स्केलमा गाउने भनेर सबै ठीक्क पा¥र्यौंं । कार्यक्रममा गीत शुरु हुनु अगाडि ल यो स्केलमा गाउने भनेर मैले हार्मोनियमम सुर दिएँ तर जब उहाँले गाउन थाल्नुभयो मैले दिएको सुर भन्दा अझ बढी हाई स्केलमा गाउन थाल्नु भयो म एकछिन अक्क न बक्क भएँ सुर एकातिर गाएन एकातिर । मलाई, महेशलाई थाहा थियो उहाँको बानी बुढाले हाई स्केलमा गाई दियो भने मिलाउनुपर्छ है भनेर हामीले सल्लाह गरेका थियौं त्यसैले मैले तुरुन्त उहाँको सुरसँग साथ दिन बाध्य भएँ । अर्को अचम्मको बानी थियो उहाँको जोसँग पनि घुलमिल हुन सक्ने चाहे त्यो जेष्ठ नागरिक होस्, सरकारी कर्मचारी होस् वा भर्खरका युवाहरु हुन् । युवाहरु पनि उहाँले गाउनु हुन्छ भनेर जहाँ भेट भयो भने पनि गाउन लगाउने गर्थे ।

उहाँ पनि भने पछि गुनगुनाइ हाल्ने । हामीले उहाँलाई बराबर सम्झाउँथे यसरी जहाँ पायो त्यही गाउन थाल्यो भने तपाईको सुर ताल एकातिर पर्छ त्यसो नगर्नुस् भन्र्थो, तर उहाँ गाउन पाएपछि मख्ख ।ं उहाँले धेरै कुराहरु हामीलाई भन्नु हुन्थ्यो । उहाँ तबलाको वस्ताज त हैन तर जुन ताल पनि मजाले बजाउनु हुन्थ्यो । उहाँ मृदंग पनि बजाउनु हुन्थ्यो । वास्तवमा उहाँले कतै तालिम लिनु भएको थिएन केवल वस्ताजहरुको संगतमा सिक्नु भएको थियो त्यसैले उहाँलाई तबलाको तालको बोल थाहा थिएन । तर बजाउन भने मजाले सक्नु हुन्थ्यो । कहिलेकाहीं भजन गाउँदा गाउँदै तालको मात्रा छुट्यो कि उहाँ ठूलो आवाजमा तबला बजाई पुनः तालमा ल्याउनु हुन्थ्यो । तबला बजाउने हात भएकाले उहाँको हात पनि खुब कडा थियो ।

उहाँको एउटा बानी नराम्रो थियो छिटो रिसाउने आफुले भने जस्तो भएन भने रिसाई हाल्ने । धेरै पटक युवाहरुलाई तबला सिकाउने भनेर उहाँलाई भनियो तर युवाहरु उहाँसँग सिक्न नमान्ने किनकी तबला बजाईमा अलि मिलेन भने गाली गरी हाल्ने बानीले युवाहरु उहाँसंग सिक्न मान्देनथे । हुनत तबला बजाउन सिक्न त्यति सजिलो पनि कहाँ छ र । त्यसैले उहाँको कला, सीप पुस्तान्तरण हुन सकेन । अहिले आएर तानसेनमा तबला बजाउने कलाकारको खडेरी छ । शास्त्रीय संगीतको तालमा जस्ले पायो त्यस्ले तबला बजाउन सक्दैन अब यो खडेरीको खाल्टो खै कसरी पूरा गर्ने हो । अस्तु !
आज आदरणीय कलाकार दाजु ब्रह्म शेखर बज्राचार्यको निधन भएको सातौं दिनको पूण्यतिथिमा यो सानो लेख श्रद्धा सुमनसहित उहाँमा समपर्ण गर्दछु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update