Shittalpati
तानसेन–बुटवल सडक झनै जोखिम, सडक कार्यालय भन्छ ‘मर्मत गर्न पर्याप्त बजेट छैन’

कृष्ण पोखरेल/रामचन्द्र रायमाझी
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकमा पर्ने सिद्धबाबा खण्ड पहिरोको कारणले एक जोखिमपूर्ण ठाउँ हो, जुन चुरे पर्वतमा पर्छ । बलौटे चट्टान र हिलो माटोले बनेको चट्टान परस्पर रूपमा रहेकाले यहाँ वेज फेलरसँगै पेन फेलर मुख्य समस्याका रूपमा छन् । माटोबाट बनेको पत्थरलाई पानीले सजिलै बगाउने र त्यसमा अडिएको बलौटे पत्थर पनि खस्ने गर्छ । सिद्धबाबा खण्डमा पानीको स्रोत भएकाले पनि पहाडलाई थप कमजोर र अस्थिर बनाएका कारण जोखिम रहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको यस सडक खण्डको सिद्धबाबा क्षेत्र ‘मृत्युमार्ग’का रुपमा समेत परिचित छ । यो खण्डमा पहिरोमा परेर सयौं व्यक्तिले ज्यान गुमाएका छन् । यहाँ पहिरोमात्रै नभई भीरबाट ठूलठूला ढुङ्गा खसेर सवारी साधन र मानिसलाई च्याप्ने गरेको छ । जोखिमकै अवस्थामा रहेको यस सडक खण्डमा अहिले फेरी पहिरो गई विभिन्न स्थानमा सडक अवरुद्ध हुनुको साथै सडक नै क्षतविक्षेत अवस्थामा पुग्दा झन जोखिम बढेर गएको छ । प्रदेश पाँचका तीन जिल्ला र गण्डकी प्रदेशका ४ जिल्ला जोड्ने सिद्धार्थ राजमार्गको यो सडक खण्ड बिच सडकबाटै चिराचिरा परेपछि दिनहुँ जोखिमपूर्ण बन्दै गएको हो । यस सडक खण्ड हुँदै दैनिक दश हजार भन्दा बढी सवारी साधनहरु ओहोर–दोहोर गर्ने गर्दछन् ।

लामो समयदेखीको अविरल वर्षातसँगै अन्धाधुन्द रुपमा राजमार्ग क्षेत्रबाट खोलिएका नयाँ ग्रामीण सडक, टिपरहरुको अत्याधिक भार वहनका कारण पाल्पा–बुटवल सडक बिच भागबाटै चिरिएर छिया–छिया भएका छन् । कमजोर भू–बनोट, चुरे क्षेत्रसंगै अत्याधिक पहिरोले राजमार्ग ग्रामीण कच्ची सडक भन्दा नराम्रो स्थितिमा पुगेको छ । कतै राजमार्ग नै भासिएको छ, कतै बिचबाटै चिरिएको छ, कतै रुख सहितका ठूला–ठूला पहिरोले सडक नै बगाएको छ भने कतै पहाड नै खसेर राजमार्ग नै क्षतविक्षत भएको छ । राजमार्गको पाल्पा खण्डको पिपलडाँडा, कालीमाटी, डुँम्रे, गौडेपुल, हिउँदेखोला, सिसुवा, चिडियाखोला सहित डुँम्रेदेखि तल्लो चिडियाखोलासम्म अनगिन्ती पहिरो खसेका छन् । दोभान, भूतखोला र भुम्सामा लगायतका स्थानमा सडक चिरा परेर भाँसिएको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको ७५ किलोमिटर मध्ये तानसेन–बुटवलको ४० किलोमिटर सडक सबैभन्दा जोखिमपूर्ण बनेको छ । यस सडक खण्डमा ४ ठाउँमा सडकपूर्ण रुपमा भासिएको छ । १० वटा ठूला–ठूला पहिरोले यात्रालाई अत्यन्त जोखिम बनाएको छ भने, स–साना गरी करीव ४० स्थान भन्दा बढी ठाउँमा पहिरो झरेको छ । डिभिजन सडक कार्यालयले यात्रा सञ्चालनका लागि मात्र ट्रयाक खुलाएको छ । तानसेन–बुटवल सडक खण्ड अति नै जोखिमपूर्ण सडक बन्दै गएको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी इञ्जिनियर शिव खत्रीले बताए । पहिरो पन्छाउन मात्र गत वर्षहरुमा भन्दा यस वर्ष ४ गुणा बढी मेशिन प्रयोग भएको इञ्जिनियर खत्रीले जानकारी दिए । पहिरोले राजमार्ग क्षेत्रका अधिकांश बस्ती जोखिममा परेका छन् । पहिरोको कारण, झुम्सा पानी मिल क्षेत्र, हिउँदेखोला क्षेत्र, झुम्सा तथा दोभान क्षेत्रका बस्तीहरु जोखिममा रहेका छन् । पहिरोका कारण यी क्षेत्रका बस्तीहरु स्थानान्तरण गर्नुपर्ने देखिएको छ । राति सुतिरहेको समयमा झुम्सा पानीमिल क्षेत्रमा पहिरो खसेपछि रातारात मानिसहरु भागेर ज्यान बचाएका छन् । घर वरीपरी पहिरोले झुम्सा पानीमिल क्षेत्रका बस्ती नै जोखिममा परेका छन् । आफुहरु यही घर बाहेक अन्य जग्गा जमिन नभएकाले मरे पनि यही पहिरोकै घरमा मरौला भन्दै जोखिम मोलेर रात कटाउने गरेका झुम्सा पानीमिलकी रविसरा विकले बताइन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा कतै प्राकृतिक रुपमा विनास भएको छ भने तानसेन बासटारी सडकमा बाटो चौडाको नाममा अन्धाधुन्द डोजर चलाउदा सयौं घर जोखिममा परेका छन् । अत्याधिक बाढी पहिरोले सडक क्षत विक्षत बनाएपछि यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । डिभिजन सडक कार्यालय पाल्पाले तानसेन–बुटवल सडक मर्मत सम्भारको कार्यालयसँग पर्याप्त बजेट नभएको जनाएको छ ।

वर्षातले सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा मात्र करीव २० करोड बराबरको क्षती गरेको छ । तर कार्यालयसँग नियमित मर्मतका लागि ४ करोड हराहारीमा मात्र बजेट रहेको कार्यालयका डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए । हामीले क्षतीको विवरण सहित बजेटको लागि विभागमा पठाएका छौ बजेट आएमा कार्यालयले रातदिन खटिएर काम गर्ने कार्यालय प्रमुख अधिकारीले बताए । केन्द्रबाट बजेट आए सडक राम्रोसंग मर्मत हुन्छ नत्र काम चलाउ हिसावले काम हुने डिभिजन प्रमुख अधिकारीले बताए । जिल्लाका संघीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु लगायत सबैले बजेटको लागि पहल गरी पर्याप्त बजेट आएमा सडक राम्रोसँग मर्मत गर्न सकिने डिभिजन सडक कार्यालयले जनाएको छ । सडक भासिएका स्थानमा तिनाउ नदीबाटै जग उठाएर सडक ममर्त गर्नुपर्ने अवस्था रहेको छ । सडक स्तरोन्नती हुन नसके तानसेन बुटवल सडक खण्डमा यात्रा गर्दा भगवान भरोसा यात्रा गर्नुपर्ने बाध्यता यात्रुहरुमा कायमै रहने छ ।

तानसेन–बुटवल सडक खण्डमा रहेको जोखिमयुक्त सडकको अवस्था ।

 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update