पाल्पा, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार साँझा सम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ३५ पुगेको छ । केन्द्रीय समाचार कक्षका अनुसार रसुवामा १ सय ६० जना, नुवाकोटमा १ सय ९३ जना, धादिङमा ६७ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम २ सय १९ जना गरी १ हजार ३ सय ३५ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका १ हजार १२ गरी कुल २ हजार २ सय ७२ वटा डिएनए नमुना संकलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ९२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ८७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ९८ जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ । बाढीको ११औँ दिन शनिबार नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो । उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पतालमा लगिएको छ । शुक्रबार पनि दुई जनालाई जीवितै उद्धार गरिएको थियो । अझै पनि खोजी र उद्धारको काम जारी छ । बाढीपछि सम्पर्कविहीन भएकाहरुका परिवारमा आशा अझै बाँकी छ ।
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ५ करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । सरकारले यसअघि उक्त कोषमा जम्मा भएको १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप १ करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।


