पाल्पा, नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ पाल्पाले अविरल वर्षाका कारण हुन सक्ने प्राकृतिक विपद् तथा त्यसबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि सामाजिक सञ्जालमार्फत व्यापक जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तानसेनमा बसेको जिल्ला कार्यसमितिको बैठकले विपद् पूर्वतयारी र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्दै सचेतनामूलक सूचना, सन्देश तथा सामग्री नियमित रूपमा प्रवाह गर्ने निर्णय गरेको हो ।

बैंठकले केही दिन यता निरन्तर परेको अविरल वर्षाका कारण कुनै क्षति नहोस् भन्ने उद्देश्यले नागरिकलाई सचेत, सुरक्षित र जिम्मेवार बनाउन समुदायस्तरसम्म सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ । बैठकले संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन सम्पूर्ण सदस्यको क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वडा, पालिका र जिल्ला तहसम्म संगठनलाई चलायमान बनाउने लक्ष्य बैठकले लिएको छ । त्यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति तथा सम्बन्धित समितिको आयोजनामा श्रावण ६ गते मनाइने विपी स्मृति दिवसका अवसरमा तानसेन नगरपालिका–८ स्थित कोकल मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । उक्त कार्यक्रममा महिला संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहने जनाइएको छ ।

बैठकलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेपाल महिला संघका केन्द्रीय प्रतिनिधि सरस्वती तिमिल्सिना लगायतले सम्बोधन गर्दै महिला संघलाई समयानुकूल सशक्त, प्रभावकारी र जनउत्तरदायी संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनीहरूले महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक सशक्तीकरणसँगै विपद् व्यवस्थापन, वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक मूल्य–मान्यताको प्रवद्र्धनमा महिला संघले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखे ।

बैठकमा नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजा गैरे, नेपाली कांग्रेसकी केन्द्रीय पार्टी सचिव सुनिता अधिकारी, महाधिवेशन प्रतिनिधि शान्ति झेडी, गण्डकी प्रदेश सदस्य दुर्गा घिमिरे, पूर्व जिल्ला सदस्य सीता ज्ञवाली, क्षेत्रीय सदस्य देवी खनाल, तानसेन नगरपालिकाकी कार्यपालिका सदस्य गीता भट्टराईलगायत महिला नेतृ तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । संघकी कार्यवाहक जिल्ला सभापति मिना पन्थीले बैठकले पारित गरेका निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्दै संगठनलाई अझ सक्रिय, जनमुखी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिन् । पन्थीको अध्यक्षता, माया नेपालको स्वागत र पार्वती शर्माको सञ्चालनमा बैंठक भएको थियो ।


