पाल्पा, आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा यो दिवस विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो ।
सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा वातारणको संरक्षण र सम्बद्र्धन सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरिदैछ । बढ्दो वन विनासले निम्त्याएको वातावरणीय समस्या समाधान तथा पृथ्वीको तापमान वृद्धिलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा नै सिंगो मानव जातीको हित हुने कुरामा दिवसले जोड दिएको छ । दिवसका अवसरमा वायुमण्डललाई हानी पु¥याउने कार्बन ग्यासको बढ्दो उत्पादन घटाउने, वृक्षारोपण गर्ने, हरितगृह प्रभाव कम गर्ने, वैकल्पिक ऊर्जाका लागि सौर्य उर्जाको प्रयोग बढाउने लगायतका काममा सबैलाई जुट्न विज्ञहरुले आग्रह गरेका छन् । नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुुन् ।
वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ । वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ । जलवायु परिवर्तनका कारण आम मानिसको जीवनमा समेत असर पु¥याउन थालिकेको छ । वातावरणलाई स्वच्छ र सफा बनाउने दिशामा समयमै सोचिएन भने यसले विकराल रुप लिन सक्ने देखिन्छ । वातावरणको सिर्जना पृथ्वीमा रहेका जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएपनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ । संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आÞवान गरेको छ । सोही अनुरुप नै नेपालमा पनि यो दिवस मनाइँदै आएको छ ।


