पाल्पा,आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
यो दिवस २१ जेठ २०६३ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि मनाउन सुरु गरिएको हो । त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा राष्ट्रिय दलित आयोग र सामाजिक संघसंस्था, राजनीतिक दलका भातृ संस्थाहरू र दलित अधिकारकर्मीहरुको अगुवाईमा देशभरि विभिन्न्न कार्यक्रमहरू हुँदैछन् ।
कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाती, वंश, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव मानिन्छ । आजभन्दा ६३ वर्ष अगाडि नै, विसं २०२० मा तत्कालीन राजा महेन्द्रवीर विक्रम शाह देवले मुलुकी ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याएको पाइन्छ । यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले व्यवहारमा जातीय भेदभाव रहिरहेको नै थियो ।
नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सोसरह सुनिश्चित गरेको छ । यदि छुवाछुत तथा भेदभाव गरिएको ठहर भएमा ३ वर्ष सम्म कैद वा एक हजार देखि २५ हजारसम्म जरिवानाको प्रावधान राखेको छ । यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अंग सोसरह मान्यता दिइएको छ । सरकारले जातीय विभेद र छुवाछूत अन्त्यको घोषणा गरेपनि समाजमा दलित समुदायमाथि अझै पनि विभेद र बहिष्करण भोग्दै आएका छन् ।


