Shittalpati
दलित पत्रकार संघको केन्द्रीय उपाध्यक्षमा मिलन

पाल्पा,पाल्पाका क्रियाशिल पत्रकार मिलन (नरभूपाल) विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न  दोस्रो राष्ट्रिय महाधिवेशनबाट विक संघको केन्द्रीय उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

देशभरबाट भेला भएका दलित पत्रकारहरुले विकलाई उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।  उपाध्यक्षमा निर्वाचित उनी विगत दुई दशक लामो समयदेखि पाल्पामा रहेर पत्रकारिता गर्दै आएका छन् ।  कुसल सञ्चारकर्मीका रुपमा पहिचान बनाएका विकले रेडियोबाट पत्रकारिताको सुरुवात गरेका हुन् ।  सामुदायिक रेडियो मुक्तिनाथमा लामो समय समाचार प्रमुखदेखि कुसल कार्यक्रम प्रोस्तोताको जिम्मेवारी निर्वाह गरिसकेका उनी अहिले अनलाईनको जिल्ला संवाददातादेखि विभिन्न सामाजिक संगठनका महत्वपूर्ण पदमा रहेर जिम्मेवारी पुरा गर्दै आएका छन् ।

उनी  नेपाल पत्रकार महासंघ पाल्पाको पूर्व कोषाध्यक्ष, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुन् ।  कालीगण्डकी गाउँपालिका–४ स्याङ्जा स्थायी घर भएका विक विगत पाँचवर्षदेखि काठमाडौंबाट सञ्चालन हुँदै आएको थाहा खबर अनलाईन र थाहा सञ्चार नेटवर्कमा पाल्पा संवाददाताको रुपमा काम गर्दै आएका  छन् । उनले आवाजबिहिनहरुको आवाजलाई कलम र आवाजको माध्यमबाट उजागर गर्नेदेखि अनियमिता, भ्रष्टाचार, सामाजिक विकृती बिसंगतिका बिरुद्ध सक्रिय रुपमा खबरदारी गर्ने र संगठनमा रहँदा समग्र पत्रकारहरुको क्षमता अभिवृद्धि तथा सुरक्षाको विषयमा सक्रिय भूमिका खेल्दै आएकै कारण छोटो समयमै दलित पत्रकार संघको  केन्द्रीय  उपाध्यक्ष बन्न सफल  भएका हुन् । स्नातक अध्ययन गरेका विक उपाध्यक्षको जिम्मेवारीमा पुगेसँगै एनजेडीसँगको कुराकानीमा दलित श्रमजीवी पत्रकारहरुको हक अधिकार सुनिश्चित गरी लोकतान्त्रिक मुल्य र मान्यता स्थापित गर्ने, व्यवहारिक, रणनीतिक दिगो पत्रकारिता प्रवद्र्धन गर्ने दिशामा आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघको  महाधिवेशनले गोपाल बराइली अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल निर्वाचित भएका छन् ।

यस्तै उपाध्यक्षहरुमा मिलन विक सहित सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भीमबहादुर बिक र सरिता बराइली निर्वाचित भएका छन् । महासचिवमा करण ताम्राकार निर्वाचित भएका छन् भने सचिवहरूमा राजेश कुमार पासवान,बसन्त विश्वकर्मा, चिन्ता परियार र बसन्त विश्वकर्मा चयन भएका छन् । कोषाध्यक्षमा सञ्जय सौगात निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार र पिवि दियाली निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update