काठमाडौँ, नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबारदेखि काठमाडौँमा विधान महाधिवेशन सुरु भएको छ । नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको साझा सङ्गठन हो । विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने तय भएको युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए ।
विधान महाधिवेशनका लागि देशभरका सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएबमोजिमका प्रतिनिधिहरू काठमाडौँ आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिए । विसं २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारको हकहित संरक्षणका लागि ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो । नेपालका सञ्चारकर्मीलाई सङ्गठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तरराष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । युनियनको पहिलो तथा तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता थिए ।
युनियनको नेतृत्व हालसम्म हरि अधिकारी, रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसकेका छन् । युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले जानकारी दिए ।



