Shittalpati
आज विश्व नृत्य दिवस मनाइँदै

पाल्पा, आज विश्व नृत्य दिवस संसारभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो दिवस सन् १९८२ देखि युनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्ट्रिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो ।

हरेक वर्ष अप्रिल २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन् । सन १९८२ अप्रिल २९ आजकै दिनमा  पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ (युनेस्को) अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । जीन जर्ज नोभेरे नामका व्यक्तिको जन्म दिनको सम्झनामा अन्तर्राष्ट्रिय डान्स कमिटिले यो दिवस मनाउने घोषणा गरेको थियो । यो दिवसको प्रमुख उद्देश्य भनेकै विश्वस्तरमा सर्वसाधारणमाझ प्राचीनकालदेखि विकसित भइआएको नृत्यकला एवं त्यसको संस्कृतिको महत्व दर्शाउनु र नृत्यकलाप्रति सबैको ध्यानाकर्षण तथा जागरुकता बढाउनु रहेको छ । सन् २००५ मा नृत्य दिवसको अवसरमा नृत्यकलालाई संसारभर प्राथमिक शिक्षा प्रणालीमा आवद्ध तथा केन्द्रित गरिएको थियो । नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रÞमाले नृत्यवेद तयार गरेको र त्यहिबेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ । रंगकर्ममा त नृत्यको खास महत्व छ नै, अन्य विभिन्न उद्देश्यले आयोजना गरिने कार्यक्रममा समेत नृत्यलाई महत्वपूर्ण हिस्साका रूपमा समावेश गर्न थालिएको छ । विभिन्न चाडपर्व, विवाह भोज, जन्मदिनका अवसरमा नृत्य कार्यक्रमविना पूर्ण नहुने मान्यता सामान्यजस्तो बनेको छ ।

राजनीतिक आमसभामा समेत भिड जम्मा गर्न नृत्यका कार्यक्रम राखिने गरेको छ । नेपालमा पनि नृत्य दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालमा एउटा उखान चर्चित छ जो नाच्छ, ऊ धेरै बाँच्छ भन्ने । यो उखानले पनि धेरै पहिलेदेखि नै नेपालमा नृत्यको महत्व रहेको देख्न सकिन्छ । परापूर्वकालदेखिका जीवित संस्कृतिमा नृत्य अनिवार्य मान्ने चलन पहिलेदेखि चलिआएको पाइन्छ । पूर्वीय दर्शनमा वैदिक साहित्यदेखि नै संगीत र नृत्यलाई महत्व दिने गरिएको पाइन्छ । हामीकहाँ हरेक संस्कृतिसँग नृत्य जोडिएको हुन्छ । असारमा खेत रोप्न जाने बेलामा हिलोमा गरिने नृत्य होस् या धान भित्र्याउने बेलामा गरिने नृत्य नै किन नहोस् । कुनै नृत्य धेरै शारीरिक अभ्यास हुने खालको हुन्छ भने केही धिमा गतिमा चल्ने खालको हुन्छ । विविध जातजातिका धनी हामी आ–आफ्नै मौलिक नृत्यहरू रहेका छन् । राईहरूले नाच्ने साकेला शिली, मगरहरूको मारुनी नाच, झामरे नाच, लिम्बुहरूको धान नाचलगायत प्रयाः सबै जातजातिका आफ्नै मौलिक नृत्य हामीकहाँ रहेका छन् ।
 
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update