काठमाडौं, प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । बैठकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको सभामुखमा अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए ।
धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष अर्याल प्रतिनिधिसभाको दसौँ सभामुख बनेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् । सभामुखमा नवनिर्वाचित अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए । स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील छन् । व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नवनिर्वाचित सभामुख अर्यालले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।


