पाल्पा, आज देशभरका नेवार समुदायले पाँहाचःह्रे पर्व मनाउँदै छन् । हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड विभिन्न किसिमले मनाउने गरिन्छ । दसैँपछिको ठूलो पर्वका रुपमा नेवार समुदायले यो पर्वलाई लिने गर्दछन् ।
विशेष गरी घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीले यो पर्व मनाउने गर्छन् । कसैले यसलाई पासाचह्रे पनि भन्ने गर्छन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना र पासाको अर्थ साथी हो । चन्द्रमासको क्यालेन्डर अनुसार चौथौ दिनलाई चह्रे भनिन्छ । यो समय भनेको जाडो याम सकेर गर्मी सुरु हुने समय भएकाले हुरीबतास आउने, पानी पर्ने र विभिन्न रोग पनि लाग्ने भएकाले त्यसलाई छेक्न अर्थात् रोगव्याधिबाट बच्न धार्मिक उपाय अनुसार पाहाचःह्रे चाड मनाउँदै आइएको भन्ने मान्यता छ । यसरी विभिन्न किसिमका समस्याबाट बच्न विभिन्न देवतालाई राँगा, हाँस, कुखुरा, बोका बलि दिएर तान्त्रिक विधिबाट पूजा गरिँदै आइएको छ । पाहाँचःह्रेका दिन फोहोरको डंगुरमा गाडेर राखिएको लुकुमहाद्यः (लुकेका महादेव) लाई पनि तान्त्रिक विधिबाट समय्बजि, छ्वयला, जाँड–रक्सी चढाइ पूजा गरिन्छ ।


