Shittalpati
पाहाँचःह्रे पर्वको सन्दर्भ

नेवार समुदायले मान्दै आइरहेको चाडमध्ये पाहाचह्रे एक हो । धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्परा अनुसार यस वर्षको विशेष महत्व रहेको छ । यस चाडलाई दसैं–तिहारपछिको ठूलो चाडका रूपमा मनाइने गरिन्छ । पाहा अर्थात् पाहुना र चह्रे अर्थात् चतुर्दशी भएकाले यस दिन पाहुनालाई बोलाई मनाउने चाड भन्ने अर्थ लाग्छ । यस चाडलाई पाशा चह्रे पनि भन्ने गरिन्छ । नेपालभाषामा ‘पासा’ शब्दले ‘साथी’ बुझाउँछ । पाशा चह्रेले साथी बुझाउने हुनाले साथीभाइसँग रमाइलो गरी मनाउने चाड भएकाले यो चाडको नाम रहन गएको पनि बुझिन्छ ।

नेवारहरू संस्कृति र संस्कारमा धनी छन्, त्यसमा पनि आफ्नैपनको संस्कार अनुसार पहिला अरूलाई खुवाएर मात्र आफूले खाने गर्छन्, यही विशेषता पाहाँचःह्रे चाडले बोकेको छ । नेवारहरूले आफ्ना पितृलाई मान्ने अनि आफन्त, साथीभाइ, पाहुनालाई बोलाई भोज खुवाएर चाड मान्ने गर्छन् । नेवारहरूको पाहाँचःह्रे वा अन्य कुनै पनि चाडबाडमा कोही नचिनेका मानिस आए पनि भोज खुवाएर पठाउने परम्परा छ । हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड विभिन्न किसिमले मनाइन्छ । यो समय भनेको जाडो याम सकेर गर्मी सुरु हुने समय भएकाले हुरीबतास आउने, पानी पर्ने र विभिन्न रोग पनि लाग्ने भएकाले त्यसलाई छेक्न अर्थात् रोगव्याधिबाट बच्न धार्मिक उपाय अनुसार पाहाचःह्रे चाड मनाउँदै आइएको भन्ने मान्यता छ । यसरी विभिन्न किसिमका समस्याबाट बच्न विभिन्न देवतालाई राँगा, हाँस, कुखुरा, बोका बलि दिएर तान्त्रिक विधिबाट पूजा गरिँदै आइएको छ । पाहाँचःह्रेका दिन फोहोरको डंगुरमा गाडेर राखिएको लुकुमहाद्यः (लुकेका महादेव) लाई पनि तान्त्रिक विधिबाट समय्बजि, छ्वयला, जाँड–रक्सी चढाइ पूजा गरिन्छ । समग्रमा यो चाड नेवार समुदायले मनाउने अन्य चाड झैं विभिन्न आस्थामा विभिन्न गतिविधि गरी मनाउने चाड हो । यसले गर्मी मौसम आउने समयमा सागाः (ढल) सफा राख्ने, गरूमापा रूपी राक्षसी प्रवृत्तिको दमन, समाजमा चलेको गरिब र धनीप्रति गरिने व्यवहार, बालबच्चालाई निरोगी बनाउन खुवाइने सन्तुलित भोजन र नेवार समाजमा सनातनी धर्मको प्रवेशमा देखाएको व्यवहारलाई चित्रण गर्दछ । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update