पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी गरेको छ । उसले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्ने र कृषकको मेहनतलाई सम्मान गर्ने उद्देश्यले कृषि मेला गरेको हो ।
मेलाम गाउँपालिकाका विभिन्न वडाबाट कृषकहरूले उत्साहजनक सहभागिता जनाएका थिए । प्रदर्शनीमा सहभागी कृषकहरूमध्ये विभिन्न विधामा उत्कृष्ट ठहरिएका २१ जना कृषकहरूलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । तरकारी विधामा खानीगाउँका पूर्ण मिधुनको फर्सी प्रथम, दर्लामडाडाका कृषक खिमानन्द भट्टराइको बन्दा द्वितीय, चिरर्तुङ्धाराका कृषक भक्तमाया चिदीको मुला तिृतीय र बराङ्दीकी लुमकला घिमिरेको कुरिलोले सान्तवना पुरस्कार हात पारेको छ । फलफूल विधातर्फ बराङ्दीकी राधा बस्यालको केरा प्रथम, ओम बहादुर सारुको भुईकटहर द्वितीय, यम्घाका हिरालाल बस्यालको अमिलो तृतीय र खानीगाउँका डिला खाम्चाको एभोकार्डले सान्तवना पुरस्कार हात पारेको छन् । खाद्यान्न, दलहन तथा तेलहन विधा अन्तरगत चिरर्तुङ्धाराका कृषक रिता चिदीको मकै प्रथम, खानीगाउँकी कृषक बालकुमारी ठाडाको जौ द्वितीय ,कृषक तोरीमा मित्रलाल बस्यालको तोरी तृतीय र चिरर्तुङधाराका कृषक तारा बहादुर सिंजालीको धानले सान्तवना पुरस्कार हात पारेको छ । यस्तै मसला तथा नगदे बाली विधातर्फ चापपानीका कृष यज्ञ प्रसाद बस्यालको अदुवा प्रथम, सोही स्थानकै दिलकुमारी थापाको बेसार दितिय, कृष खुमानन्द पाठकको कफी तृतीय र चिरर्तुङधाराका जानुका रेश्मीको धनियाले सान्तवना पुरस्कार हात पारेको छ । स्थानीय रैथाने तथा विविध अन्तरगत दुई जना कृषकको उत्पादन प्रथम भएको छ जसमा बराङ्दीकी राधिका बस्यालको पिँडालु र खानीगाउँ भिषण अधिकारीको तरुल प्रथम ,बराङ्दीकी भविन्द्र बस्यालको फूल द्धितिय, खानीगाउँकी वेदकला गौतमको गहते सिमी तृतिय र चापपानीका शिव कुमार मल्लको च्याउँले सान्तवना पुरस्कार पाएको छ । विजेता कृषकहरूलाई विधागत रूपमा प्रथम हुनेलाई ४ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वना पुरस्कार स्वरूप १ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । प्रदर्शनीले स्थानीयस्तरमा लुकेर रहेका कृषि उत्पादनलाई बाहिर ल्याउन र कृषकहरूलाई आत्मनिर्भर बन्न थप प्रेरणा दिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले बातइन् । प्रदर्शनी केवल उत्सव मात्र होइन, कृषकहरूको पसिनाको सम्मान र उत्पादनलाई बजारसँग जोड्ने थलो भएको अध्यक्ष चिदीले बताईन । उपाध्यक्ष हरि प्रसाद पाठकले प्रदर्शनी तथा कृषि मेलाले कृषकहरूबीच स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने र एक(अर्काको प्रविधि सिकेर उत्पादन विविधीकरणमा सहयोग पुग्ने बताए । प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले पालिकाले कृषि आधुनिकीकरणका लागि सिँचाइ र उन्नत बिउबिजनमा लगानी बढाएको बताउँदै प्रदर्शनीबाट प्राप्त तथ्यांकका आगामी बजेटका प्राथमिकता तय गरिने बताए । कृषि शाखा प्रमुख किशोर खत्रीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन पालिकाले प्राविधिक सहयोग, माटो परीक्षण र रोग नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । प्रदर्शनीमा तरकारी, फलफूल, खाद्यान्न, दलहन तथा तेलहन, मसला तथा नगदे बाली र स्थानीय रैथाने गरी पाँच मुख्य विधामा २७० वटा कृषिजन्य वस्तुहरू राखिएको गाउँपालिकाका कृषि प्राविधिक खिमराज कोईरालाले जानकारी दिए ।


