पाल्पा, आज दशौं निर्वाचन दिवस मनाइँदै छ । विक्रम संवत् २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो अधिकार उपयोग गर्न पाएको स्मरणमा निर्वाचन दिवस मनाइँदै आइएको हो ।
नेपालले वि.सं. २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको पाइन्छ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको कार्यकालमा २०१५ साल फागुन ७ गते महासभा र प्रतिनिधिसभा गरी दुई सदनका लागि निर्वाचन भएको थियो । त्यही दिनलाई आधार मानी प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइन्छ । आयोगसँग निर्वाचन व्यवस्थापनका साढे ६ दशकभन्दा लामो सफल प्रेरणादायी अनुभव र गौरवमय इतिहास छ । मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।
आयोगले निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयता प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता आवधिक निर्वाचन, बालिग मताधिकार र जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणालीको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी आयोगले कुशलतापूर्वक सम्पादन गरेको छ । पहिलो आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेको थियो । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक विसं २०७३ देखि फागुन ७ गते भव्यताका साथ दिवस मनाउने गरेको हो ।


