तानसेन (पाल्पा), जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीले रक्तदान गरेका छन् । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले निर्वाचन प्रहरीले रक्तदान गरेका हुन् ।
बिहानदेखि साँझसम्म निर्वाचन सुरक्षाका लागि तालिम तथा प्रशिक्षणमा खटिएका निर्वाचन प्रहरीले समय मिलाएर रक्तदान कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रहरी कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहयोगमा प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।निर्वाचन सुरक्षाको जिम्मेवारीसँगै रक्तदानमार्फत बिरामीको ज्यान बचाउने पवित्र कार्यका लागि रक्तदान गरेको तालिममा सहभागी निर्वाचन प्रहरी कमल भट्टराईले बताए । उनले भने “निर्वाचन सुरक्षामा खटिन पाउँदा गौरव लागेको छ, त्यसमाथि पनि रक्तदान गरेर कसैको ज्यान बचाउन पाउँदा झनै खुसी छु ।”
निर्वाचन प्रहरीको मुख्य उद्देश्य निर्वाचनलाई शान्तिपूर्ण बनाउनु हो । नागरिकको सुरक्षासँगै नागरिकको जीवन बचाउनु प्रहरीको धर्म हो । निर्वाचन प्रहरीले देखाएको यो मानवीय भावनाले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले बताए । निर्वाचन प्रहरीले रक्तदानमा देखाएको सक्रियताले समुदाय र प्रहरीको आपसी सहकार्यबाट शान्तिपूर्ण समाज निर्माणको बाटो देखाएको उनको भनाइ छ । यहाँ लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र पाल्पा अस्पताल गरी तीनवटा ठूला अस्पताल सञ्चालनमा छन् । यी अस्पतालमा दैनिक हुने जटिल शल्यक्रिया, सुत्केरी र विभिन्न सडक दुर्घटनाका घाइतेको उपचारका लागि रगतको माग उच्च हुने गरेको छ । जिल्लामा रगत व्यवस्थापनका लागि यहाँस्थित रेडक्रसले गत भदौदेखि तानसेनमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।
केन्द्रका अनुसार पाल्पामा दैनिक १० युनिट, मासिक तीन सय युनिट र वार्षिक रूपमा करिब तीन हजार ६०० युनिट रगत आवश्यकता पर्दछ। यस्तो अवस्थामा सुरक्षाकर्मीले गरेको यो योगदानले रगतको अभाव टार्न ठूलो सहयोग पुर्याएको जिल्ला रेडक्रसका कार्यालय प्रमुख विनोद भारतीले बताए।“निर्वाचन प्रहरीले रगतको अभावमा छट्पटाइरहेका बिरामीका लागि ‘जीवनदाता’ बनेर नयाँ पहिचान बनाएका छन् । यहाँका २५ जना निर्वाचन प्रहरीले रक्तदान गरेका हुन्”, उनले भने ।


