Shittalpati
बेथल बोर्डिङ स्कूलले मनायो २९ औं वार्षिकोत्सव

पाल्पा,निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले  विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिक उत्सवको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री तथा विद्यालयका निवर्तमान प्रिन्सिपल खेमबहादुर सारुले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सारुले निजी तवरबाट सञ्चालन भएको स्कूलले जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले २९ वर्षे लामो यात्रा तय गर्नु स्कूलका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । मन्त्री सारुले आजको विश्व बजारमा सिप र प्राविधियुक्त जनशक्तीको मागलाई आपूर्ति गर्न शिक्षालयहरुले सरकारी र निजी क्षेत्रको समन्वय र सहकार्यबाट शैक्षिक गूणस्तर अभिवृद्धिमा थप लगानी बढाउनुपर्ने  धारणा राखे । पछिल्लो दशकमा नेपालमा शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि, पूर्वाधार निर्माणको क्षेत्रमा भएका सकारात्मक परिवर्तनहरु नव यूवा र आमनागरिकहरुमा डिसेमिनेसन गर्नुपर्ने समेत उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक खनाल, तानसेन नगरपालिका कार्यपालिका सदस्य सविता भट्टराई, प्याब्सनका लुम्बिनी प्रदेश उपाध्यक्ष महेशमान बज्राचार्य, प्याब्सनका जिल्ला अध्यक्ष डॉसुराम पन्त, अभिभावक राजेन्द्रबहादुर धामी, पवित्रा बस्याल, पूर्व विद्यार्थी सभ्यता पराजुली, विद्यार्थीरु साक्षी गाहा, अर्थव थापा लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्रियताका साथ लागेकाले पनि अभिभावकहरुको विश्वास जित्न सफल भएको बताए । 


विद्यालयका प्रिन्सिपल रुपचन्द्र थापाले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा ८ सय २२ जना छात्रछात्राहरु रहेको, चालु शैक्षिक सत्रमा १ सय ८१ जना विद्यार्थीहरुलाई वार्षिक ४७ लाख ५३ हजार ९ सय ८० छात्रवृत्ति दिइएको जानकारी गराए । उनले विद्यालयले शिक्षिक क्षेत्रमा मात्र नभई खेल क्षेत्रमा समेत राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा सफला हासिल गरेको बताए । उनले विद्यालय सञ्चालनमा थुप्रै चुनातीहरु रहेको उल्लेख गरे । संस्थागत  विद्यालय सञ्चालन सम्बन्धी सरकारको अष्पस्ट ऐन, कानुन, नीति, नियम, कोभिड महारीको असर लामो समयसम्म रहँदा अभिभावकहरूको आयश्रोतमा प्रत्यक्ष असर पर्न गई विद्यार्थी ड्रपआउट, विद्यार्थी भर्नामा विद्यालयहरुबिच अस्वस्थ प्रतिस्पर्धा, स्थानीय निकायहरुको संकुचित र पक्षपातपूर्ण ऐन, कानुन  तथा नीति र व्यवहार, दक्ष  र व्यवसायिक जनशक्तिको अभाव र पूर्वाधार व्यवस्थापनको चुनौती, विद्यार्थीहरूमा मोबाइल खेलको अत्यधिक प्रयोगको कारण अपेच्छित उत्कृष्ट नतिजा हासिल गर्न समस्या जस्ता विद्यालयका मुख्य चुनौतीहरु रहेको प्रिन्सिपल थापाले बताए ।

उनले भावि योजना समेत सार्वजनिक गरेका छन् । थापाले क्रियाकपलाप केन्द्रित शिक्षण सिकाइमा जोड दिने, विद्यार्थी केन्द्रीत कार्यक्रमलाई विशेष प्राथमिकता दिइने,विद्यार्थीहरुको जिल्ला र प्रदेश स्तरीय प्रदर्शनी, कार्यशाला र गोष्ठी  आयोजनामा सहभागिता गराउने, योगा, नृत्य, आर्ट, खेलकुद शिक्षकको व्यवस्था र प्रशिक्षण दिइने,विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व तथा सिप विकास सम्बन्धी तालिम, प्रशिक्षण प्रविधिमैत्री हाजिरी, लेखा, परीक्षा र सञ्चार प्रणाली, शैक्षिक गुणस्तर बृद्घि गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई नियमित तालिम, गोष्ठी, वृत्तिविकास कार्यक्रम सञ्चालन गर्ने योजना समेत रहेको प्रिन्सिपल थापाले बताए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालको अध्यक्षता, विद्यार्थीहरु शुलभ केसी, विपसा सारु, लाजिमा गाहा, शैलेस सिंजाली लगायतले संयुक्त रुपमा कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update