पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा दोस्रो बगनासकाली महोत्सव हुने भएको छ । बगनासकाली गाउँपालिकाको संरक्षक, न्यू हिमाली युवा क्लव चिलाङ्दीको मुख्य आयोजनामा फागुन १ गतेदेखी १० गतेसम्म महोत्सव हुन लागेको हो ।
गाउँपालिकाले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गाराएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन,स्थानीय उत्पादनको बजारीकरण, भाषाकला धर्म संस्कृति संरक्षण र प्रवद्र्धन, स्थानीय उद्यमशीलताको प्रवद्र्धन, राजस्व अभिवृद्धि तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताइन् ।उनले महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिइन् । ग्रामीण क्षेत्रमा पनि महोत्सव सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश गत वर्षको महोत्सवले दिएको र त्यहीबाट सिकेर अहिले पनि महोत्सव गर्न लागिएको अध्यक्ष चिदीको भनाई छ । महोत्सवको व्यापक प्रचार–प्रसारमा सहयोग गरिदिन उनले जिल्लाका पत्रकारहरुलाई आग्रह गरिन् । महोत्सवको मुख्य आकर्षकको रुपमा राम्दी पुल, कुँडुले घर र कृतिम ताल रहने अध्यक्ष चिदीले बताइन् । महोत्सवमा हरेक दिन स्थानीय कलासंस्कृति सहित स्थानीय कलाकारहरुलाई प्राथमिकता दिइने छ । साथै राष्ट्रियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने उनको भनाई छ । महोत्सवमा भजनकृतन प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता र एकल लोक गायन प्रतियोगिता रहनेछ ।
कौरा, सोरठी, पञ्चेबाजा, झ्याउरे, भजन, पाउधुरे लगायतका कलासंस्कृतिहरुको सामेत प्रस्तुति रहनेछ । महोत्सवमा टिकटदर सर्वसाधारणका लागि ८० र विद्यार्थीका लागि ५० रुपैयाँ हुनेछ । महोत्सवमा १ सय ९ वटा प्रदर्शनी तथा व्यापारिक स्टलहरु रहने छन् । १० वटा होटल रेष्टुरेन्ट रहने छन् । बाल उद्यान र अटोमोवाइलका स्टलहरु पनि रहने अध्यक्ष चिदीले बताइन् । महोत्सवमा बगनासकालीका किसानहरुले उत्पादन गरेको दुधको ताजा कुराउनी, खिर दुना टपरीमा खुवाउने व्यवस्था मिलाइने छ । यसको प्रवन्ध बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले गर्ने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय किसानहरुबाट उत्पादित कृषि उत्पादनको प्रदर्शनी र कृषि उत्पादन शुलभ मूल्यमा खरिद विक्रीको व्यवस्था मिलाइनेछ । पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले महोत्सव सफलताको शुभकामना व्यक्त गरे । उनले विगतमा अन्य संघसंस्थाहरुले आयोजना गर्ने मेला महोत्सव भन्दा फरक र रचनात्मक ढंगले गर्न आयोजकलाई सुझाव समेत दिए । अध्यक्ष तिमिल्सेनाले स्थानीय मिडियाहरुलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम गर्न आग्रह गरे । कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको अध्यक्ष चिदीले जवाफ दिएकी थिइन् । अध्यक्ष चिदीको अध्यक्षता, उपाध्यक्ष हरी पाठकको स्वागत, प्रवक्ता टिका थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।


