पाल्पा, सुरक्षित इन्टरनेट दिवस आज नेपालमा पनि मनाइँदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाउने गरिन्छ ।
सुरक्षित इन्टरनेट दिवस नेपाल सहित विश्वका १ सय ७० भन्दा बढी मुलुकमा मनाइँदैछ । नेपालमा भने सन् २०१९ देखि मात्र चाइल्डसेफनेटको पहलमा यस दिवस मनाउन थालिएको हो । यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी लिने अवसर उपलब्ध गराउँछ । हालको डिजिटल युगमा इन्टरनेटले ज्ञान, सूचना, सञ्चार र मनोरञ्जनको अभूतपूर्व अवसर प्रदान गरेको, तर सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा बालबालिका तथा युवाहरू अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबर बुलिङ्, साइबर, छलकपट (फिसि·) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौती) मा पर्ने जोखिम रहेको बताइएको छ । अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि सुरक्षित इन्टरनेट दिवसलाई अझ बढी प्रभावकारी र व्यापक बनाउन सरकारले विभिन्न योजना बनाएको छ । सूचना प्रविधिको विकासले फड्को मारेसँगै यसले बालबालिका र युवालाई अनलाइनमा असुरक्षित बनाएको पनि छ । चाइल्डसेफनेट र युनिसेफको एक अध्ययन अनुसार नेपालमा पाँच जनामा एक जना बालिका र दश मध्ये एक जना बालक अनलाइन यौन दुव्र्यवहारमा पर्ने जनाएको छ ।


