Shittalpati
धमाधम अवैध लागूऔषध ओसार–पसार

पाल्पा, प्रहरीले दैनिकजसो लागूऔषध प्रयोगकर्ता, ढुवानीकर्ता तथा कारोबारी पक्राउ गरे पनि ओसारपसारमा कमी आएको छैन । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ । यस्ता गतिविधिमा संलग्नहरुलाई प्रहरीले कडाई गर्दै आएको बताउँदै आए पनि अझै पनि सिमानाहरुबाट धमाधम अवैध लागूऔष ओसार–पसार गर्नेहरु भेटिने गरेका छन् ।

 पछिल्लो समय एकै  दिन देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, तनहुँ, कञ्चनपुर, बाँकेका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध सहित १० जनालाई पक्राउ गरेको हो । रूपन्देहीको सियारी गाउँपालिका–२ भगदरीबाट अवैध लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित मायादेवी गाउँपालिका–६ बेथरीका २५ वर्षीय उमेश राजभर र २२ वर्षीय आकाश पासीलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बेथरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.२९ प २९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै रूपन्देहीकै बुटवल उपमहानगरपालिका–२ पुष्पनर्सिङटोल बस्ने ३२ वर्षीय तेजबहादुर घर्तिमगरलाई पनि अवैध लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।  ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २१ मिलिग्राम सहित  इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–३ ईन्द्रपुर बस्ने २४ वर्षीय नरेन्द्र कुर्मी र नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरका २८ वर्षीय दिपु बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–२ बसन्थलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ बस्ने २४ वर्षीय धिरू चन्द, ३४ वर्षीय मनोज मल्ल, २७ वर्षीय बिनोद खड्का र ३८ वर्षीय गणेश बोहरा रहेका छन् । अस्थायी प्रहरीबिट चम्फापुरबाट खटिएको प्रहरीले गणेशले सोही स्थानमा सञ्चालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १७ एम्पुल सहित भिमाद नगरपालिका–९ भिमादबजार बस्ने २९ वर्षीय सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९३६९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

 
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update