पाल्पा, प्रतिनिधिसभा निर्वाचन आउन अब २७ दिन बाँकी छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन आउन २७ दिन मात्र बाँकी रहेको हो ।
निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ६० लाख मतपत्र छापिएको छ । निर्वाचन आयोगका अनुसार बुधबार साँझासम्मको विवरण अनुसार ५५ निर्वाचन क्षेत्रको ६० लाख मतपत्र छपाइ सकिएको हो । समानुपातिक निर्वाचन प्रणालीको मतपत्रको छपाइ यसअघि नै पूरा भइसकेको छ । दिनमा १३ लाख हाराहारीमा मतपत्रको छपाइ भइरहेको आयोगले जनाएको छ । ११ फागुनसम्ममा छापिसकेपछि भोलिपल्टबाटै मतपत्र ढुवानी प्रारम्भ हुने छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको उच्च सुरक्षाबीच मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ । सेतो कागजमा कालो रङमा ५८ निर्वाचन चिह्न भएको समानुपातिक मतपत्र तयार पारिएको छ । समानुपातिकतर्फ २ करोड ८ लाख प्रति मतपत्र छापिएको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवार कायम छन् । निर्वाचन क्षेत्रमा ५ जनादेखि ४५ जनासम्म उम्मेदवार छन् । कम उम्मेदवार भएका ठाउँमा सानो र धेरै उम्मेदवार भएका स्थानमा ठूलो आकारको मतपत्र छापिँदै छ । प्रत्यक्षतर्फ सेतो कागजमा रातो चुनाव चिह्न भएको मतपत्र हुनेछ । मतपत्रमा राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारका चुनाव चिह्न हुन्छन् । प्रत्यक्षतर्फ २ करोड ३ लाख प्रति मतपत्र छाप्ने लक्ष्य छ ।
यस्तै आयोगले निर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ ।
आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, २०८२ को दफा १६, आयोगको माघ ८ को निर्णय तथा नेपाल राष्ट्र बैङ्कले माघ १२ मा जारी गरेको निर्देशनका आधारमा यो कार्यविधि ल्याइएको आयोगले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्किङ कारोबार गर्न इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनअनुसार निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई पारदर्शी र अनुशासित बनाउने लक्ष्य राखिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचार–प्रसारका लागि प्राप्त गर्ने आर्थिक सहयोग, चन्दा तथा सम्पूर्ण खर्च यही विशेष बैङ्क खातामार्फत गर्नुपर्नेछ ।


