पाल्पा, पाल्पामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारंहिताबारे उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिसँग जिल्ला प्रशासन कार्यालयमा राखेको अन्तरक्रिया कार्यक्रममा सहभागीलाई निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले निर्वाचनलाई निष्पक्ष भयरहित बनाउन प्रतिबद्ध रहेको बताउँदै दल र उम्मेदवारबाट आचारसंहिता विपरीतका कुनै पनि कार्य नहुने आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्धता व्यक्त गरे । नेपाली काँग्रेस पाल्पाका सभापति एवं क्षेत्र नम्बर २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका नेता धनेन्द्रराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डुलबहादुर कुँवर, राष्ट्रिय जनमुक्तिका उम्मेदवार टोप अस्लामी, जनता समाजवादी पार्टीका खिकबहादुर रेश्मी, नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर दर्लामी, सार्वभौम नागरिक पार्टीका रामबहादुर अस्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्ण ठडराई (सार्की) प्रगतिशील लोकतान्त्रिक पार्टीका बोधराज जैसी, स्वतन्त्र उम्मेदवार मोहन कुँवर थापा मगर लगायतले आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले कसैले पनि आचारसंहिता उल्लंघन हुने कार्य गर्न नहुने बताइन् । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन हुन नदिन आचारसंहिता पालना गरे÷नगरेको बारे अनुगमन गरिने उल्लेख गरिन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले आचारसंहिता पालन गरी सहयोग गर्न सबैलाई आग्रह गरे ।
निर्वाचन आचारसंहिता पालना तथा कार्यान्वयन, आचारसंहिता उल्लङ्घनमा हुने कारबाही, पालना भए नभएको अनुगमन, दण्ड, सजायलगायतका बारेमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी गराएका थिए । आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले आचारसंहिता उल्लंघनका फोनमार्फत सूचना आउन सुरु भएको बताए । उनले कतिपय त्यस्ता सूचना अस्पष्ट भएकाले आचारसंहिता उल्लंघन भएको देखिएमा सही सूचना र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाली पत्रकार र मिडियाले पूर्णरुपमा आचरसंहिताको पालना गरेको बताए ।


