पाल्पा, देशका धेरै ठाउँहरुमा आज वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा देशभरको मौसम बदली भई ठाउँ–ठाउँमका वर्षा र हिमपात भएको हो । पाल्पा पनि हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको हो । यो झण्डै भारी वर्षाको नजिक हो ।
यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ । बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मध्यम वर्षा हो । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा वर्षा भएको र ती जिल्लाका १०० जति वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिसिमटरबीचमा वर्षा भएको पनि विभागको अभिलेखमा उल्लेख छ । यो हल्कादेखि मध्यमसम्म वर्षा हो । बुधबार रातिदेखि यो प्रणाली कमजोर हुँदै जाने विभागले जनाएको छ । तर चिसो भने बढाउने र केही दिन बदली पनि रहने जनाइएको छ ।


