पाल्पा, प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित वसन्तश्रवण गरी देशविदेशमा धुमधामका साथ मनाइँदैछ । मनाइँदै छ । आज यो यस्तो दिन हो जसप्रति बच्चादेखि वृद्धसम्मले नै उच्च श्रद्धाभाव प्रकट गरिरहेका हुन्छन् । यस दिन विशेषगरी विद्याकी अधिष्ठात्री देवीको रुपमा पुजिने सरस्वतीको पूजा–आराधना गर्ने विशेष प्रकारको विशिष्ट परम्परा रहँदै आएको छ । आज देशभरका विद्यालयहरुमा सरस्वतीलाई स्मरण गर्दै धुमधामका साथ गरिने पूजाआजासँगै विद्यार्थीहरुको एकअर्कामा रमाइलो भेटघाट गर्ने अवसरसमेत जुट्छ । हरेक विद्यालयमा सरस्वतीको मूर्ति अनिवार्यजस्तै राखिएको हुन्छ, जसले विद्यासँगको गहिरो नातालाई परिभाषित गर्नु निकै अर्थपूर्ण प्रतित हुन्छ । आजको विशेष दिनमा सरस्वती देवीलाई स्मरण गर्दै प्रार्थना गर्ने हो भने विद्या र बुद्धिमा मात्रै बढोत्तरी नभई आत्मविश्वासमा समेत उल्लेख्य वृद्धि हुने आमविश्वास छ ।
विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तिक्ष्ण हुने विश्वास छ । विशेष गरी आजको दिन स–साना बालबालिकाहरुले पहिलो पटक ‘क’, ‘ख’ लेख्न सिक्दै छन् । सरस्वती मन्दिर वा विद्यालयमा गएर बालबालिकाहरुले पूजा आराधानसँगै कखरा र एबीसीडी लेख्न सिक्ने गर्दछन् । सरस्वती पूजाका दिन पाल्पाका अधिकांस विद्यालयहरुले नयाँ बालबालिकाहरुलाई विद्यालयमा उपस्थित गराई पूजासँगै लेख्न सिकाउँदैछन् । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्रामी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ । सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शड्ढ आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ । सरस्वतीको पूजा गरे पठनसिद्धि हुने मान्यता रहँदै आएको छ । तर जानकारहरु भने सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभइ सरस्वती पूजाको दिनबाट पढाइ लगावप्रति संकल्प गर्नुपर्ने बताउँछन् ।
त्यस्तै, आजदेखि नै सूर्य उत्तरतिर लाग्ने हुनाले दिन लामो हुँदै जाने भएका कारणले यस घडीबाट वसन्त ऋतु आरम्भ भएको मानिन्छ । त्यही मान्यताकै कारणले समेत आजको दिनलाई वसन्तपञ्चमी भनिएको हो । वसन्त ऋतुलाई ऋतुहरुको राजा पनि मानिन्छ, त्यस अर्थमा पनि यस ऋतुको महत्व सर्वोपरि रहेको छ । आजबाटै हिउँदको कडा जाडो कम हुँदै जाने र ठिहि¥याउने पानीमा समेत शीतलताको आभाष हुन थाल्ने प्रक्रिया आरम्भ हुने हुनाले ऋतु परिवर्तनको महत्वका रुपमा यसलाई हेरिन्छ ।


