पाल्पा, सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाइँदै आइएको छ ।
दिवसलाई व्यवस्थित र प्रभावकारी बनाउन भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ अनुसार मूल समारोह समिति, व्यवस्थापन उपसमिति तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरिएको छ । पुस २२ गते बसेको प्रचारप्रसार उपसमितिको बैठकले भूकम्पीय जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सोही अनुसार शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका कार्यालयहरूलाई विभिन्न सचेतनामूलक कार्यक्रम गरी २८ औँ भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन दिइएको छ ।
सरकारले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित भवन निर्माण र राष्ट्रिय भवन संहिताको पूर्ण कार्यान्वयनलाई सशक्त पूर्वतयारीको आधार मानेको छ । कमजोर संरचना भत्किँदा जनधनको ठूलो क्षति हुने भएकाले भूकम्पीय जोखिम न्यूनीकरणमा सबैको साझा जिम्मेवारी रहेको सरोकारवालाहरूले जोड दिने गरेका छन् । यसैगरी, भूकम्पपछिको सम्भावित अवस्थालाई ध्यानमा राखी द्रुत खोज तथा उद्धार, तालिमप्राप्त जनशक्ति र तत्काल राहत व्यवस्थापनलाई समेत तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि पूर्वतयारीदेखि पुनःस्थापनासम्मका कार्यहरू विभिन्न निकायबाट निरन्तर रूपमा भइरहेको सरकारले जनाएको छ । सरकारले भूकम्प सुरक्षा दिवसलाई सफल बनाउन सञ्चार जगत्, सरोकारवाला निकाय तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।


-1762576335.jpg)