Shittalpati
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा

पाल्पा, विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र तानसेनको पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा स्थापना गरिएको छ । तानसेन नगरपालिकाले  बाढी, पहिरो, भूकम्प जस्ता विपदमा विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले स्रोत केन्द्र स्थापना गरेको हो ।

केन्द्रको तानसेन  नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै  नगर प्रमुख श्रेष्ठले जिल्लाकै नमुना सिकाईको केन्द्रका रुपमा पद्म पब्लिकलाई विकास गरिने  बताए । उनले भने ‘हामी नगरपालिका भित्रका सबै विद्यालयले सिक्न र सिकाउन सकिने गरि केन्द्र बनाउँछौं । ताईवानमा म जाँदा त्यहाँको सिकाई हस्तान्तरण पनि होस् विद्यार्थी आँफै, घरपरिवार र समुदायलाई केहि शिक्षा दिन सकोस् भनेर विपद्का लागि  हातेमालो गर्न तयार भएका हौं ।’ नगर उपप्रमुख प्रतिक्षा सिंजालीले नेपालकै पहिलो अवधारणा स्थानीय सरकारको अग्रसरता र अपनत्वमा प्रदेश तथा केन्द्रीय सरकारसँग सहकार्य गरिने बताईन् ।

 पाल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पाका विपद्जन्य कार्यका लागि योजना बनाएर कार्य गरिरहेको बताए ।  कार्यक्रम सहजीकरण गर्दै विपद् विज्ञ दिपक मरहट्टाले विपद् पूर्व तयारी, उद्दार तथा राहत, अल्पिकरण तथा अनुकुलन र पूनर्निर्माण तथा पूनस्र्थापनाका बारेमा जानकारी गराएका थिए । नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष कृष्ण बहादुर थापाले नगरपालिकाले हरेक विद्यालयमा विपद् पूर्वतयारीका लागि अभ्यास सहित श्रोत सामग्री रहनु महत्वपूर्ण रहेको बताए । जापान तथा अन्य साझेदार निकायसँग श्रोत केन्द्र व्यवस्थापनका लागि सहकार्य गरिने कार्यक्रम फोकल पर्सन बिष्णु पौडेलले बताए । कार्यक्रममा तानसेनका ३१ माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update