पाल्पा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको ८ औं अधिवेशन तथा १६ औं वार्षिक साधारण तानसेनमा भएको छ । महासंघको शनिबार एक औपचारिक कार्यक्रमकाबिच अधिवेशन भएको हो ।
अधिवेशनको महासंघका केन्द्रीय सल्लाहकार मनहरी बस्यालले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बस्यालले पुस्तक जीवनको जन्मदेखी मृत्युसम्मको साथी र साक्षी रहेको बताए । उनले भने “जीवनलाई जीवन्तता दिन किताबले महत्वपूर्ण भूमिका खेलेको छ । नीजि विद्यालयले किताब, कपि बेच्ने होइन्, सबै पेशाका सीमितता हुन्छन् ।” बस्यालले बौद्धिक उत्थानको महान साधन किताब तथा स्टेशनरी सामुहिक भावनाको व्यवसाय भएको बताए ।
महासंघका केन्द्रीय सदस्यहरु रामकृष्ण चापागाईं र रामु अधिकारीले संगठन, व्यवसायिकता र सेवा–भावनासँग व्यवसाय जोडिएको बताए । उनीहरुले व्यवसायीको अधिकार सुनिश्चित गर्न महासंघ लागि परेको बताए । कार्यक्रममा महासंघका सल्लाहकार केदारलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, रुपन्देही जिल्ला शाखा अध्यक्ष दिपक पाठक, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने, प्याब्सन पाल्पा अध्यक्ष डाँसुराम पन्त लगायतले ज्ञान, शिक्षा र चेतनाको आधारशिला पुस्तक भएकाले समयमै उपलब्ध भएमा विद्यार्थीको चेतना वृद्धिमा सहयोग पुग्ने बताए ।
अधिवेशनले अध्यक्षमा राम प्रसाद पन्थीलाई पुनः निर्विरोध निर्वाचित गरेको छ । जसको प्रथम उपाध्यक्षमा युवराज पन्त, दितिय उपाध्यक्ष शिव प्रसाद पाण्डे, सचिवमा विष्णु प्रसाद खनाल, सह– सचिवमा यमबहादुर कार्की, कोषाध्यक्षमा ज्योति कार्की, सह कोषाध्यक्षमा हरिबहादुर बाह्रघरे रहेका छन् । सदस्यहरुमा सञ्जय घर्ती, लक्ष्मण भण्डारी, संगीता भट्टराई, सुरेन बोहरा, जमुना न्यौपाने र सिर्जना ढकाल रहेको निर्वाचन संयोजक नरेशचन्द्र भट्टराईले जानकारी दिए । अधिवेशनले तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको संयोजकमा ताराबहादुर सुनारी, सदस्यमा मीन प्रसाद बस्याल र सन्तोष श्रेष्ठ रहेका छन् । सचिव बिष्णु खनालले साङ्गठनीक प्रतिवेदन प्रस्तुत गर्दै ७ बैठकबाट विविध निर्णय गर्दै कार्यक्रम गरिएको बताए । अध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षता, उपाध्यक्ष युवराज पौडेलको स्वागत, सचिव बिष्णु खनालको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।


