पाल्पा, पछिल्लो समय तानसेनमा होमस्टे व्यवसाय (घरवास) फस्टाउँदै गएको छ । जाडो मौसममा प्रशस्त घाम लाग्ने, गर्मी मौसममा हिमालको चिसो हावाले शित्तल बनाउने उपयुक्त मौसम, सबै स्थानमा यातायातको सुविधा, पर्यटकहरुलाई घुमाउने, देखाउने प्रशस्त सौन्दर्य स्थानहरु रहेकोले यहाँको होमस्टे व्यवसाय फष्टाउँदै गएको हो ।
यहाँ आउने आन्तरिक तथा बाÞय पर्यटकहरुको रोजाईमा यहाँका होमस्टे पर्ने गरेका छन् । प्राकृतिक रुपमै सुन्दर, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सास्कृतिक नगरको रुपमा पहिचान बनाएको तानसेन नगरपालिकाले समेत यहाँका १४ वटै वडामा होमस्टे कार्यक्रम सञ्चालनको लागि प्रोत्साहन समेत गर्दै आएको छ । पर्यटन व्यवसाय नै तानसेन विकासको मेरुदण्ड रहेको भन्दै नगर सरकारले यसको विकास र विस्तारमा विशेष प्राथमिकता दिएर काम गरेको छ । उसले आवश्यक पर्यटकीय पुर्वाधार निर्माण देखी, सरोकारवालसँग समन्वय गरेर काम गर्न थालेपछि तानसेनका पर्यटन व्यवसायीहरु समेत उत्साहित भएका छन् । नगरपालिकाले यहाँ पर्यटकहरुलाई थप लोभ्याउन घरबास सञ्चालकहरुलाई घरबास सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ । उसले नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजना काठमाडौंको सहकार्य र तानसेन होमस्टे समितिको समन्वयमा होमस्टे घरवास व्यवस्थापन क्षमता अभिवृद्धि रैथाने शिक्षा तथा आतिथ्यता सम्वन्धी ७ दिने तालिम शुरु गरेको हो । घरबासका लागि आउने आन्तरिक तथा बाÞय पर्यटकलाई स्वागत सत्कारसँगै स्थानीय उत्पादनका परिकार बनाएर खुवाउन सिकाउने उद्देश्यले घरबासका सञ्चालकलाई सातदिने तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । स्थानीय उत्पादनका पनि मीठा–मीठा परिकार बनाएर पाहुनालाई सेवा गर्न सकिन भए पनि तालिमको अभावमा समस्या हुँदै आएकोमा नगरपालिकाले घरबासमा आउने पर्यटकको मन कसरी लोभ्याउने भन्ने जानकारी दिने गरी तालिम सञ्चालन गरेको हो ।
तालिममा तानसेनमा सञ्चालन भएका विभिन्न होमस्टेबाट २५ जना होमस्टे व्यबसायीहरुको सहभागिता रहेको छ । होमस्टे तालिममा प्रशिक्षण्क धिरेन राकेश मगर, चिरन ढुङ्गाना र हरि गिरीले सहजीकरण गरिरहेका छन् । तालिम उद्घाटन कार्यक्रममा तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उप प्रमुख प्रतिक्षा गाँहा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, होमस्टे महासंघका महासचिव कृष्णलाल चौधरी, तानसेन पर्यटन समितिका संयोजक सागरमान महर्जन, वडा नं. ३ वडा अध्यक्ष बाबुरत्न शाक्य, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्की, तानसेन नाटाका अध्यक्ष राजीव शाह, पाल्पा उद्योग वाणिज्य संघका अधिकृत शुसिल प्रधान, तालिमका फोकल पर्सन तानसेन नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापा, गेट अप पाल्पाका अध्यक्ष शुसिला श्रेष्ठ, पत्रकारमहासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले तानसेनको पर्यटन प्रवद्र्धनमा होमस्टेले खेलेको भुमिका र होमस्टेलाई अझै व्यस्थित र व्यवसायिक, पारिवारिक बनाउन तालिम सञ्चालन गरिएको बताए । तानसेन होमस्टे समितिका अध्यक्ष धनीश्वर बस्यालको अध्यक्षता, समितिका उपाध्यक्ष बामदेव बस्यालको स्वागत र सचिव सुनिता श्रेष्ठको सञ्चालनका तालिम कार्यक्रम चलेको हो ।


