पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आयोजना तथा शिव इन्स्ट्रिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रा.लि. तानसेनको प्राविधिक सहयोगमा आधारभूत मन्टेश्वरी तालिम तथा सीप परीक्षण कार्यक्रम तानसेनमा सुरु भएको छ । तालिममा कक्षा १२ उत्तीर्ण गरेका २० जना महिलाहरूको सहभागिता रहेको छ ।
पुस ४ गतेदेखि सुरु भएको तालिम फागुन १९ गतेसम्म सञ्चालन हुने घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कुल ३९० घण्टाको तालिम अवधिभर सहभागीहरूलाई बालबालिकाको प्रारम्भिक शिक्षासँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ । तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूको सीप परीक्षण गरिने र परीक्षणमा उत्तीर्ण भएकाहरूलाई विद्यालयको मन्टेश्वरी कक्षामा काम गर्न दक्ष जनशक्तिका रूपमा मान्यता दिइनेछ ।
तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले बालबालिकाको आधारभूत विकासका लागि मन्टेश्वरी शिक्षाको भूमिका महत्वपूर्ण रहेको बताए । मन्टेश्वरी शिक्षा केवल पढाइ मात्र नभई बालबालिकाको स्वाभाविक क्षमता पहिचान गर्ने माध्यम भएकाले बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासमा ठूलो सहयोग पुग्ने सभापति श्रेष्ठले जोड दिए । तालिमले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने, शिक्षाको गुणस्तर सुधार, महिला सशक्तिकरण र रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने तानसेन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका नायब सुब्बा मनोज आचार्यले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । उनले सिपमूलक तालिममार्फत महिलाहरू आर्थिक रूपमा सबल बन्न सक्ने बताए । घरेलु तथा साना उद्योग कार्यालय तानसेनका प्रमुख एव बरिष्ठ उद्योग अधिकृत केशव सुनारले विद्यालहरुमा मन्टेश्वरी कक्षामा पठन–पाठनको लागि दक्ष जनशक्तिको अभाव देखिएकाले लुम्बिनी प्रदेश सरकार घरेलु तथा साना उद्योग मार्फत तालिम सञ्चालन गरिएको जानकारी दिए । तालिमले शिक्षाको गुणस्तर सुधारसँगै महिलालाई रोजगारीको अवसर प्रदान गर्नु रहेको उद्योग अधिकृत सुनारले प्रष्ट पारे ।
शिव इन्स्टिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रा.लि का सञ्चालक कमल भट्टराईले तालिममा सहभागी महिलाहरुलाई सैद्धान्ति भन्दा बढी व्यवहारिक ज्ञान सिप र अभ्यास गराएर दक्ष बनाई मन्टेश्वरी शिक्षकको रुपमा तयार पार्ने प्रतिवद्धता जनाए ।


