Shittalpati
तानसेनमा स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

पाल्पा, मखनटोल टोल विकास संस्था तानसेन पाल्पाले २५ औँ वर्ष तथा रजत जयन्तीको अवसरमा स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एकदिने सचेतना अभिमुखीकरण कार्यक्रम गरेको छ ।  महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्त्री रोग, प्रजनन् स्वास्थ्य तथा यससँग सम्बन्धित जोखिम र चुनौतीबारे जानकारी प्रदान गरिएको हो  ।

कार्यक्रममा युनाइटेड मिसन अस्पतालका निर्देशक डा. रचेल कारक तथा नेपाल परिवार नियोजन संघका प्रवन्धक शोवाकान्ता न्यौपानेले सहभागीहरुलाई स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी गराए ।

अभिमुखीकरण कार्यक्रममा विशेषगरी स्तन क्यान्सर, पाठेघर सम्बन्धी समस्या तथा समग्र प्रजनन् स्वास्थ्यको अवस्था, जोखिम र चुनौतीहरूमा केन्द्रित रहेर छलफल गरिएको थियो ।  प्रशिक्षकहरूले महिलाहरूले आफ्नै शरीरप्रति सचेत हुनुपर्ने, असामान्य लक्षण देखिएमा लाज वा डर नगरी स्वास्थ्य संस्थामा परामर्श लिनुपर्ने कुरामा जोड दिएका थिए । महिलाहरुले नियमित स्वास्थ्य जाँच गर्नाले रोगहरूको  शुरुवाती चरणमै नियन्त्रण गर्न सकिनेमा प्रशिक्षकहरुले  तालिममा सचेत बनाएका थिए ।  उनीहरुले स्त्री रोगका सामान्य लक्षण, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता, प्रजनन् स्वास्थ्यको महत्व तथा सचेतना अभावका कारण देखिने समस्या बारे प्रष्ट पारे ।

महिला स्वास्थ्यसँग सम्बन्धित विषयमा समुदायस्तरमै यस्ता अभिमुखीकरण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको, महिलाको स्वास्थ्य सुदृढ भए मात्र परिवार र समाज स्वस्थ बन्ने कार्यक्रमका सहभागीले जोड दिए । 

कार्यक्रममा मखनटोल टोल विकास संस्थामा आवद्ध महिला, गृहिणी तथा छात्राहरूको सहभागिता रहेको थियो ।  सहभागीहरूले कार्यक्रम उपयोगी र ज्ञानवद्र्धक भएको बताए ।  कार्यक्रम संस्थाका अध्यक्ष ज्ञानु कार्कीको अध्यक्षता, संस्थाकी पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक ज्योती राजभण्डारीको  स्वागत तथा  संस्थाकी सह–सचिव नमिता थैवको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update