Shittalpati
रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाले पालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । पालिकाले भर्खरै निर्माण सम्पन्न भएको पालिकास्तरीय  कोहल खेलमैदान डुम्रिपोखरा देउरालीमा यही मंसिर २४ गते देखी २६ गते सम्म सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन  गरेको हो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका शिक्षा शाखाले विभिन्न २६ वटा विधामा प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले  उद्घाटन गरेका हुन्  ।  खेलको उद्घाटन गर्दै अध्यक्ष कार्कीले खेलकुदले  आफ्नो ठाउँ र राष्ट्रको पहिचान गराउने, विद्यार्थी तथा युवामा  अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमताको विकास गराउने  र  युवामा सकारात्मक सोच बढाउने, शरीर, मन र आत्मालाई स्वस्थ बनाउने बताए ।  अध्यक्ष कार्कीले उपाध्यक्ष कान्ता अधिकारीको उपस्थितीमा नव निर्मित कोहल खेल मैदानको पनि औपचारिक रुपमा उद्घाटन गरेका छन् । ४ करोडमा निर्माण सम्पन्न भएको प्याराफिट सहितको खेलमैदानमा क्रिकेट देखी फुटवल लगायतका सबै किसिमका खेलकुद गर्न सकिन्छ । कार्यक्रममा उपाध्यक्ष कान्ता अधिकारीले प्रतियोगितामा सहभागी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरी जिल्ला, प्रदेश, राष्ट्र हँुदै अन्तर्राष्ट्रिय सम्मको उपाधी जित्ने गरी सफल हुने बताईन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले खेलकुलले विद्यार्थीको सबै किसिमको विकास गराउने भएकाले जिम्मेवार भएर गतिविधीमा सहभागी भई पालिकाको नाम उच्च स्थानमा राख्न आग्रह गरे ।  कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायण बहादुर जिसीले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित, दिगो र प्रभावकारी बनाउन  सबै पक्षबाट सहयोग सहकार्य जरुरी भएको बताए । उद्घाटन समारोहमा नेपाली काँग्रेसका अम्वरबहादुर सारु, नेकपा एमालेका विष्णु प्रसाद खनाल, नेपाल कम्युनिष्ट पार्टीका बुद्ध बहादुर खाम्चा, खेलकुद विकास समितिका अध्यक्ष दिपक पचभैया लगायतले  गाउँपालिकाको खेलकुद अभियानले सामाजिक एकता, सौहार्द र समुदायबीचको सम्बन्ध बलियो बनाउनेमा जोड दिए । खेलकुदले गाउँपालिकाको समग्र छवि, पहिचान र सम्भावनालाई बाहिर ल्याउने  भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने  राजनितिज्ञ तथा खेलप्रमीहरुले बताएका छन् । शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले विद्यार्थी तथा बालबालिकाको चौतर्फी विकासको लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निकै महत्वपूर्ण रहेको बताए । विद्यार्थीहरुमा रहेको खेलकुदका प्रतिभा बाहिर ल्याउने उपयुक्त माध्यम प्रतियोगिता रहेको उनले बताए ।

 प्रतियोगिताबाट  विद्यार्थी तथा युवामा अनुशासन, सहयोग र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उनीहरुले जोड दिए ।  प्रतियोगितामा रिब्दीकोटका  १४ वटा  माध्यमिक विद्यालयका ३ सय विद्यार्थीहरुको सहभागिता रहेको छ ।  छात्र छात्राविच २६ विधाका १०० मिटर देखी ३ हजार मिटर सम्मको दौड, हाईजम्प, लङ्गजम्प, एथ्लेटिक्सका अन्य विद्यालहरु, भलिवल  लगायतका खेलकुद गतिविधी हुने पालिकाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने छन् । प्रत्येक विद्यार्थीलाई खेलअवधी भर एक÷एक लाख रुपैयाँको विमा गरिएको पालिकाले जनाएको छ ।  प्रतियोगिताको औपचारिक कार्यक्रम पालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता, वडा नंं २ का वडा अध्यक्ष ओम प्रसाद पोखरेलको स्वागत र शिक्षा शाखा प्रमुख टिकाराम आचार्यको सञ्चालनमा भएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update