पाल्पा, एकल महिलाहरुका लागि लैङ्गिक हिंसा तथा कानूनी सचेतना कार्यक्रम रामपुरमा भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिका भित्रका एकल महिलाहरुका लागि लैंगिक हिंसा र कानुनी व्यवस्था सम्बन्धी सचेतना प्रदान गरिएको हो ।
कार्यक्रममा समाजमा हुने हिंसा, यसको अवस्था, निम्त्याउन सक्ने दुर्घटना, यसको न्यूनीकरण , कानुनी उपचार लगायतका विषयमा सहजिकरण गरिएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले एकल महिलाहरुलाई सामाजिक रुपबाटै हुने विभिन्न किसिमका हिंसाहरु चुनौतीको रुपमा रहेको उल्लेख गरे । यसका लागि हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको उनको भनाई छ । उनले एकल भए पनि विभिन्न सिप र उद्यमको माध्यमबाट आत्मनिर्भर बन्न आग्रह समेत गरे । यसका लागि रामपुर नगरपालिका संधै साथमा रहेको नगर प्रमुख थापाको भनाई छ ।
यस्तै उपप्रमुख बालकुमारी थापाले एकल महिलाहरुको हक अधिकार र समृद्धिका लागि एकल महिला दिदिबहिनीहरु एक भएर लाग्नु पर्ने बताइन् । उनले एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले नगरस्तरबाटै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिन् । कार्यक्रमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखा प्रमुख पुजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र रामपुरका फोकल पर्सन सरस्वती पौडेलले गरेका थिए । उपप्रमुख बाल कुमारी थापाको अध्यक्षता, आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमको स्वागत, महिला बालबालिका शाखा प्रमुख पुजा परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।


