Shittalpati
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय दासता उनमुलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ ।

 नेपालमा श्री ३ चन्द्र शमसेर राणाले विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका थिए ।  विश्वमा झण्डै २१ करोड महिला, पुरुष र बालबालिका दासताको शिकार भएको तथ्यांक छ ।  नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । यस्तै पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेको पाइएको छ ।

दासत्व भनेको अरू मानिसको स्वामित्वमा रहेका व्यक्तिका बारेमा कम र छोड्न सक्षम नभएको, शोषण र पूर्ण रूपमा अरू कसैद्वारा नियन्त्रित हुनुजस्ता पक्षका बारेमा बढी हुनुलाई शाब्दिक रूपमा लिन सकिन्छ । नेपाली समाजमा समेत आधुनिक दासत्व के हो भन्नेबारे चेतना बढ्दै गएको छ । पेसागत सुरक्षा अभिवृद्धि गर्न, जोखिम कम गर्न र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सकेमा हामीले दासत्व उन्मूलन गर्ने दिशामा ठूलो नतिजा हासिल गर्न सक्थ्यौँ ।

आधुनिक दासत्व उन्मूलन गर्ने भनेकै ‘रोकथाम, संरक्षण र दण्ड’ व्यवस्थापनमा केन्द्रित छ । राजनीतिक दल, नेता र कार्यकर्ताको कृत्यले राज्य प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो राज्य नीतिमार्फत वा राज्य अङ्ग वा अधिकारीको कार्य वा बहिष्कारमार्फत आधुनिक दासत्व अपराधको आयोगमा संलग्न छन् । राज्यले समस्याको पहिचान गर्दै दासत्व उन्मूलन गर्न अवसरको भरपूर उपयोग गर्नुपर्छ । आप्रवासी कामदारको उद्धारको तयारीका निम्ति आफ्नो देशका कामदारलाई विदेशमा ट्रेस गर्न सक्ने नीति सरकारले लिनुपर्छ ।

दासत्व उन्मूलनको विशाल अभियानमा सङ्घीयता प्रक्रियालाई पुनरुत्थान, सुदृढीकरण वा आवश्यक संरचना परिचय गर्ने अवसरका रूपमा प्रयोग गर्न राजनीतिक दल र सरोकारवाला कटिबद्ध हनुपर्छ । बौद्धिक र कर्पोरेट अफिसका वातानुकूलित कोठामा मिठा शब्दले ओतप्रोत आधुनिक दासत्वका विभिन्न रूपलाई सम्बोधन गर्न सबैले आफ्नो क्षेत्रको समस्या खुलेर बहस गर्न तयार हुनुपर्छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update