पाल्पा, राम र सीताबीचको अटुट प्रेम र आदर्श विवाहलाई यहाँँको रामपुर नगरपालिका –३ सीताकुण्डमा फेरि एक पटक जीवन्त पार्न लागिएको छ । आदर्श जोडीको वैवाहिक सम्बन्धले साँस्कृतिक तथा धार्मिक सम्बन्ध प्रगाढ बनाउने मात्र नभई आदर्श विवाहको महत्वलाई पनि उजागर गर्ने गर्दछ । जसको साक्षी यहाँका हजारौं श्रद्धालु भक्तजन बन्ने छन् ।
विवाह पञ्चमीको अवसरमा पारेर यहाँ रामसीता विवाह उत्सव नै मनाउन लागिएको छ । आगामी मंसिर ९ गते हुन लागेको उत्सवको तयारीको कार्य अन्तिम चरणमा पुगेको रामपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गरी तयारीको विषयमा जानकारी गराएको छ । वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने गर्ने छन् । यहाँको वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाट त्रेतायुगमा भगवान रामचन्द्र वनवासको क्रममा स्नान गरेको पवित्र भुमि हो । त्यसैले यहाँबाट जन्ती निकाल्ने परम्परा बसालिएको हो । यस्तै वडा नं. ३ स्थित सीताकुण्डमा रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएका थिए । जसले गर्दा विवाह उत्सवमा सीताकुण्डमा जन्तीलाई स्वागत गर्ने गरी तयारी मिलाइएको नगरपालिकाले जनाएको छ । विवाह उत्सवमा जन्तीसँंगै सीताकुण्डसम्म पुग्ने धर्मवालम्बीहरुको सहजताको लागि सडक स्तरोन्नति तथा सीताकुण्डमा गाडी पार्किङका लागि व्यवस्थापन गरिएको छ । नगर भित्र रहेका भगवान राम र सीतासँग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका साथ मनाउन लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । नगर भित्रका महत्वपूर्ण धार्मिकस्थलको संरक्षणसँगै महिमाको प्रचार–प्रसार गरी धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनको भनाई छ । भगवान रामले विचरण गरेको पुण्यभूमि भएकाले सोही आधारमा रामपुर नामाकरण भएको नगर प्रमुख थापाले बताए । उनले सीताकुण्ड परिसरको सरसफाईलाई ध्यानमा राख्दै प्लाष्टिकजन्य सामाग्री निषेध गरिएको उल्लेख गरे । उत्सवमा सहभागी हुन रामपुर नगरसँगै कालीगण्डकी वेशीका सरोकारवाला सबैलाई आग्रह समेत गरिएको छ ।स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको धार्मिक व्यक्ति सन्दिप रानाले बताए । उनले भने “सीताकुण्डको महिमा छुट्टै रहेको छ । यहाँ भाकल गरेमा मनोकामना पुरा हुन्छ भन्ने जन विश्वास रहेको छ ।” कुण्डमा पाईने जंगली धानको फरक विषेशता रहेको समेत उनले बताए । माइती पक्षको तर्फबाट जन्तको स्वागत, मन्दिरको सरसफाई, खाना तथा प्रसादी व्यवस्थापनका लागि वडा नं. ३ र ४ का स्थानीय, टोल विकास समितिहरु जुटिरहेको रानाले जानकारी दिए । स्वागतका लागि १२ स्थानमा स्वागतद्वारा निर्माण गरिने छ । ...बेहुला पक्षका सचिवालय समिति संयोजक एवं रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पञ्चेबाजा र रामपुर नगर भित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकी सहित सीताकुण्ड जन्त लैजानका लागि तयारीको कार्य भइरहेको बताए । उनले भने “वडा नं. ५ को रामघाटबाट जन्त निकाल्ने र राममन्दिरबाट कसार र दहीसहित सगुन दिएर जन्त पठाउने तयारी भइरहेको छ ।” मुख्य पण्डित हरि प्रसाद खनालले विवाह पञ्चमीका दिन विहान रामघाटमा यज्ञ पश्चात ९ बजेको शुभसाइतमा चौरासी पुजा गरिसकेका जेष्ठ नागरिकहरुबाट जन्तीलाई विदाई गर्ने, राममन्दिरबाट सगुन खाएर विदाई पश्चात धार्मिक व्यक्तित्वहरु महन्त, पण्डित, बटुक सहितको पैदल सीताकुण्ड जाने कार्यक्रम रहेको बताए । मौलिक परम्परा अनुसार जन्तीलाई सीताकुण्डमा पुगेपछि माईती पक्षले पर्सिने र स्वागत पश्चात कुण्डमा पण्डितहरुको वैदिक विधि पूर्वक विवाह सम्पन्न गरिने छ । बालनको माध्यमबाट लोकनाटकमार्फत रामसीताको विवाह उत्सवको प्रदर्शनसँगै अन्य जातिय झाँकी प्रदर्शनी ३ बजे जन्ती फिर्ता भई रामघाट मै आएर विवाह उत्सवको विधि पूर्वक समापन गरिने खनालले बताए । विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले मङसिर ९ गते नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक विदा समेत दिइएको नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतको जानकारी दिए । रामपुर नगर भित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगाएतका धार्मिक स्थलहरु रहेका छन् ।


-1762576335.jpg)