Shittalpati
पोखराथोक साहित्य संगमले  मनायो रजत जयन्ती

पाल्पा, जिल्लाको साहित्यिक क्षेत्रमा सक्रिय पोखराथोक साहित्य संगमले रजत जयन्ती मनाएको छ । संगमले एक औपचारिक कार्यक्रम गरी रजत जयन्ती मनाएको हो ।

कार्यक्रमको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामीले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चिदीले नेपाली साहित्य  क्षेत्रमा संगमले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताईन् । उनले बगनासकालीभित्रका साहित्यकार गाउँपालिकाको गहना रहेको जनाउँदै स्थानीय सरकारले भाषा, कला, साहित्यको विकासको लागि निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएको जानकारी समेत गराइन् । अध्यक्ष चिदीले साहित्यमा नयाँ पुस्तालाई आकर्षण र प्रोत्साहन गर्न सकेमा साहित्यले पुस्तान्तरण गर्ने र नयाँ सर्जकको सक्रियता बढ्ने विश्वास व्यक्त गरिन् ।

 कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, साहित्यकारहरु रामप्रसाद अर्याल, केशवराज अमोदी, डा. घनश्याम न्यौपाने, पुष्कर अथक रेग्मी, राजेन्द्र गोपाल सिंह,कृष्णप्रसाद कोइराला, सकुन्तला पौडेल, डा.कृष्णराज डि.सी., शशी पन्थी, विश्वनाथ गैरे लगायतले समाजलाई सहि दिशा निर्देश गर्न साहित्यको महत्त्वपूर्ण भूमिका र योगदान रहेकोमा जोड दिएका थिए ।

सोही अवसमा संगमले रजत जयन्ती विशेषाङ्क ‘बाटिका’ को २४ औं अंक सार्वजनिक, दुई दर्जन श्रष्टा, साहित्यकार तथा अक्षयकोष दातालाई सम्मान समेत गरेको थियो । साहित्यको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएका १२ श्रष्टा र १४ जना आजीवन सदस्य तथा अक्षयकोष दाता गरी २६ जनालाई संगमले सम्मान पत्र, दोसल्लासहित सम्मान गरेको हो । सम्मानित श्रष्टामा डा.घनश्याम न्यौपाने (नवलपरासी), गंगानाथ कोइराला (दाङ), कृष्ण प्रसाद कोइराल (रुपन्देही), केशवराज अमोदी (चितवन), विजय गोविन्द श्रेष्ठ (रुपन्देही), भोजराज भट्टराई (पाल्पा), सकुन्तला ज्ञवाली (कपिलवस्तु), गोपाल प्रसाद बस्याल (पाल्पा), विश्वनाथ रेग्मी, हरिप्रसाद भट्टराई, शंकर नेपाल (पाल्पा) रहेका छन् । सम्मानित स्रष्टाहरूलाई प्रमुख अतिथि सरस्वती चिदी दर्लामी, संगमका अध्यक्ष गोविन्द खनाल, बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, नेपाली लेखक संघका केन्द्रीय सल्लाहकार डा. कृष्णराज डि.सी लगायतले सम्मान पत्र प्रदान गरेका थिए । सम्मानित श्रष्टाहरूले पोखराथोक साहित्य संगमले पाल्पाको पहिचान बढाउँदै श्रष्टा सम्मानलाई निरन्तरता दिएकोमा संस्थाप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रममा पाल्पा, स्याङ्जा, रुपन्देही, गुल्मी, कपिलवस्तु, दाङ, चितवन, नवलपरासीबाट १०० जनाभन्दा बढी श्रष्टा साहित्यकारहरूको उपस्थिति रहेको थियो । संगमका अध्यक्ष गोविन्द खनालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अग्नीराज न्यौपानेले ९ लाख ५७ हजार ८ सय ८२ रुपैयाँको आय–व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । संगमको रजत जयन्ती विशेषाङ्कको साहित्यकार रामप्रसाद अर्यालले समीक्षा गरेका थिए । संगमका अध्यक्ष गोविन्द खनालको अध्यक्षता, सह–सचिव गीता रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । वि.सं. २०५७ असोज १२ गते बगनासकाली–२ पोखराथोकमा संगमको स्थापना भएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update