Shittalpati
अवैध लागूऔषध सहित २४ जना पक्राउ

पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, दैलेख, झापा, उदयपुर,रौतहट, सिराहा, मोरङ, संखुवासभा र दाङबाट अवैध लागूऔषध सहित २४ जनालाई प्रहरी पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–२० बाट २ जनालाई लागूऔषध ट्रामाडोल २ हजार ७ सय ट्याब्लेट र डाइक्लोमाइन २ हजार ५ सय १० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ गुम्बा लाईन बस्ने १९ वर्षीय नलन तामाङ र २१ वर्षीय प्रकाश लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२८ प २४१० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस्तै दाङको घोराही उपमहानगरपालिका–१२ हापुरबाट लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका–६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । यस्तै संखुवासभाको मकालु गाउँपालिका–५ नुमबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २८ ग्राम  र डिजिटल तराजु १ थान सहित भोटखोला गाउँपालिका–४ बस्ने २८ वर्षीय सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–१० दाजुभाइ चोकबाट  लागूऔषध डिकोलिक २ सय २० ट्याब्लेट र स्पास्मो ५० ट्याब्लेट सहित सोही नगरपालिका–९ बस्ने २२ वर्षीय निश्चल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोक बस्ने एलिस भन्ने प्रेम खड्कालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४९ ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस्तै सिराहाको गोलबजार नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ पुरानो चोहर्वा बस्ने २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी बस्ने २४ वर्षीय बिष्णु देव यादव रहेका छन् । उता रौतहटको गुजरा नगरपालिका–२ कटानी टोलबाट पनि अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१२ बौद्ध बस्ने २० वर्षीय कोमन गुरूङ र सिन्धुली मरिण गाउँपालिका–५ बस्ने २१ वर्षीय मनिष घलान रहेका छन् । यस्तै उदयपुरको, कटारी नगरपलिका–३ कान्छीबजारबाट नियन्त्रित लागूऔषध स्पास्मो १४ ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–५ बस्ने २२ वर्षीय रत्नलाल गिरी, सोही नगरपालिका–३ बस्ने २७ वर्षीय बिजय तामाङ र २० वर्षीय अर्जुन तामाङ रहेका छन् । यस्तै झापाको दमक नगरपालिका–३ स्थित वेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ए३, हट नम्बर ३५३ बस्ने साजन थापा समेत ८ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले साजनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी आठै जनालाई पक्राउ गरेको हो । यस्तै दैलेखको गाउँपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित नारायण नगरपालिका–७ बस्ने १९ वर्षीय उदय बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी चुप्राबाट खटिएको प्रहरीले सुर्खेतबाट दैलेख बजारतर्फ आउँदै गरेको बा. प्र ०१–०३२ ज ७५८८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update