Shittalpati
जनसरोकारका विषयमा सिडिई पाल्पाले गरायो  सिडियोलाई ध्यानाकर्षण

पाल्पा, जिल्लाका सचेत नागरिकहरुद्धारा गठित ‘क्रियटिभ डेमोक्रेटिक इभेन्ट’ (सिडिई) पाल्पाले जनसरोकारका विषयमा चासो देखाएको छ । उसले भ्रष्टाचार, सुशासन, सेवा प्रवाह र सरकारी संरचना लगायतका बारेमा चासो देखाएको हो ।

सिडिईले भ्रष्टाचार नियन्त्रण, जिल्लामा सुशासन कायम, प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने, सरकारी संरचनाको  सही सदुपयोग गर्नुपर्ने लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुंवरको ध्यानाकर्षण गराएको छ । सिडिईका संरक्षक तथा लुम्बिनी प्रदेशका सांसद विरबहादुर राना र जिल्ला अध्यक्ष अजयमान कर्माचार्यको नेतृत्वमा गएको सचेत नागरिकहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी कुंवरलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

देशलाई विकसित हुन नदिने र जनतालाई विपन्नताबाटमुक्त हुन नदिने मुख्य अवरोधक नै भ्रष्टाचार रहेको ठम्याउँदै उसले यसको अन्त्य नगर्दासम्म समाज रुपान्तरण नहुने ठहर गर्दै भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई  आग्रह गरेको छ ।

भ्रष्टाचार भन्नाले घुस रिसवत लिने मात्र होइन, राष्ट्रसेवकहरुबाट सरकारी कार्यालयमा हुने ढिलासुस्ती, समय र कर्तव्यको पालनामा हेलचेक्रयाई, कामका क्रममा विभेद, लैगिक भेदभाव साथै पद अनुसारको आचरण नगर्ने, साधन स्रोत एवम् पदको दुरुपयोग गर्ने, कालाबजारी, राजश्व छली गर्ने उद्देश्य र घोषणा अनुसार काम नगर्ने निकायका गतिविधि समेत रहेको ज्ञापन पत्रमा उल्लेख छ । पाल्पाको पर्यटन विकासको आधारस्तम्भको रुपमा रहेको पाल्पा दरबार क्षेत्रको सौन्दर्यकरणका लागि दरबार क्षेत्रभित्रका संरचनाहरु खाली गरिने भनिए पनि हाल जिल्ला समन्वय समितिको नयाँ भवन निर्माण गर्न शिलान्यास भएको भन्ने जानकारीमा आएकाले त्यसलाई रोक्नुपर्ने सडिईले जनाएको छ । विगतमा काजीपौवामा जिल्ला विकास समितिको भवन निर्माण सम्पन्न भई खाली रहेको अवस्था रहेकाले सरकारी खर्च घटाउन  त्यहाँ स्थानान्तरण गर्न उपयुक्त हुने उसको ठहर छ ।

यस्तै जिल्लाभित्रका सरकारी कार्यालयहरुमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको,सरकारी सवारी साधनको दुरुपयोग बढेकाले त्यसलाई रोक्नुपर्ने उनीहरुको माग छ ।  यस्तै पाल्पा अस्पतालमा जग्गाको अभावले आवश्यक संरचना निर्माण र व्यवस्थापनमा समस्या भएकाले त्यसको सहजीकरण गरिदिन समेत प्रजिअलाई आग्रह गरिएको छ । सिडिईका संरक्षक विरबहादुर रानाले संघीय लोकतन्त्रको सार्थक अनुभूतिका हुने गरी काम गर्नु अहिलेको आवश्यकता रहेकाले सोही अनुसार काम गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे । उनले भने “आर्थिक मितव्यीता, सुशासन कायम गर्दै सरकारी सेवा प्रवाहमा जनतालाई लोकतन्त्रको अनुभूत हुने गरी काम गर्नुपर्छ, अहिलेको आन्दोलनबाट पाठ सिकेर काम गर्न म सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई आग्रह गर्दछु ।” सिडिईका जिल्ला अध्यक्ष अजयमान कर्मचार्यले भ्रष्टचार र अनियमिताको अन्त्य गर्दै देशमा सुशासन, कायम गर्ने दिशामा आफुहरु अभियानकै रुपमा अगाडि बढेको बताए । 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update