पाल्पा, बडा दशैंको पहिलो दिन घटस्थापनामा पाल्पाका विभिन्न शक्तिपिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा देवीको दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् । पाल्पालीहरुले शुभ साईतमा घर–घर, देवीका मठमन्दिरहरुमा घटस्थापना गरेका छन् ।
जिल्लाको डाँडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिरहरु सरसफाई गरी सोमबार नवरात्रदेखी देवीको नित्य पुजा आजा शुरु गरिएको छ । पाल्पामा अधिकाश देवी, भगवती, दुर्गाका मन्दिरहरु डाँडाको टुप्पोमा निर्माण गरिएका छन् ।
नवदुर्गा शुरु भएपछि भगवती मन्दिरका वरीपरी भक्तजनहरु भजन कृर्तन, दुर्गा तथा चण्डी पाठ गर्दे देवीको आराधनामा जुटेका हुन । तानसेनको भगवती मन्दिर परिसरमा परम्परागत नेवारी भाषाको डाफा भजनले संस्कृति जोगाएको छ । लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको लागि पाका पुस्तासँगै युवाहरु जोडिएका छन् । परम्परागत भजन संस्कृति बुढापाकामा मात्र रहेको अवस्थामा युवाहरुलाई समेत डाफा भजनमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतिको जर्गेनाको लागि सहयोग पुगेको संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले बताए । भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिति र भगवती भजन समुहले नियमित रुपमा नवदुर्गा समय भरी विहानमा डाफा भजन गर्दै आएका छन् । तानसेनको भगवती मन्दिर, भैरवस्थानको भैरव मन्दिर, रम्भाको रम्भादेवी मन्दिर, दर्लाम महाकाली मन्दिर, बगनासकाली मन्दिर, भुवनपोखरीको रैनादेवी मन्दिर, बताँसेको कालिका मन्दिर लगायतका मन्दिरमा पुजा आजाको लागि भक्तजनको अध्याधिक भिड हुने गर्दछ । पाल्पामा नवदुर्गाको समयमा मन्दिर वरीपरी विभिन्न समुहबाट सामूहिक देवी स्तुती भजन किर्तन गर्ने परम्परा हालसम्म कायम रहेको पाईन्छ ।