
पाल्पा, प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने विश्व शान्ति दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा विश्व शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् २००२ अघि सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ । विगतका वर्षहरुमा शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलीका रुपमा प्रयोग भएको पाइन्छ, कहीँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व युद्वको अवधिलाई नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयुद्वको १०० भन्दा बढी वर्ष पुरा हुँदासम्म विभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन आवश्यक छ ।