Shittalpati
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, के–के काम भइसक्यो ?

पाल्पा,राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६१ प्रतिशत भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार ६१ दशमलव ६ प्रतिशत भौतिक प्रगति र ५१ दशमलव १ प्रतिशत वित्तीय प्रगति भएको हो ।

सुरुङ ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको छ । हालसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । ११२६ मिटर टनेलमध्ये सुरुङ १०८९ मिटर रहेको छ । मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लाइनिङको काम सबै सकिएको हो । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङभित्रको पर्खाललाई कंक्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम भएको छ । इन्भर्टको काम पनि १०८९ मिटर सकिएको छ । यससँगै उत्तर र दक्षिण पोर्टलको कामसमेत अघि बढाएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम गर्नुपर्ने आयोजनाले जनाएको छ ।उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माणका लागि समेत काम भइरहेको छ । अबको ५/७ महिनामा मुख्य टनेलबाट सवारी साधन गुडाउन सकिने आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ । सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । 

सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्रुहरू सुरुङमार्गको काम तिव्र रुपमा आगाडि बढेपछि वर्षौंदेखि सुरुङ बन्ने सपना विपनामा परिणत हुनेमा ढुक्क भएका छन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्याउने गर्दछ । दैनिक हजारौँ सवारीका साधन गुड्ने यो क्षेत्रमा अहिलेसम्म सयौँ मानिसले ज्यान गुमाएका छन् । हिउँदमा समेत पहिरो खसेर कैयौँ यात्रुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । वर्षामा यो सडक क्षेत्र त्यसै पनि अति जोखिममा छ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update