Shittalpati
आज राष्ट्रिय सूचना दिवस मनाइँदै

पाल्पा, राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचनाको हकसम्बन्धि ऐन २०६४ लागू भएको दिन भदौ ३ गतेलाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ ।

 नागरिकका सूचनाको हकको प्रचलनका लागि २०६४ साउन ५ गते तत्कालिन संसदबाट प्रमाणित भई भदौ ३ गतेदेखि ऐन लागू भएको थियो । सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १९ औँ राष्ट्रिय सूचना दिवस मनाउन लागिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ । सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने संवैधानिक हकको कार्यान्वयनका लागि कानुन कार्यान्वयनमा आएपछि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आज जिल्ला प्रशासन कार्यालय  पाल्पाले पत्रकार र सरकारी कार्यालयका सूचना अधिकारीहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि पत्रकार र सूचना अधिकारीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले दिवसको अवसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ऋषिराम सुवेदीले बताए । संविधानले लोकतन्त्रमा जनता नै सूचनाको मालिक हो भन्ने अधिकार प्रत्याभुत गरे पनि आम नागरिक अझै पनि सहज सूचना पाउनबाट बञ्चित छन् । जनता सूचना माग्न नआएपनि सार्वजनिक कार्यालयले सूचना तीन÷तीन महिनामा सार्वजनिक गर्नुपर्ने बिधि भएअनुसार कार्यान्वयन गर्नुपर्ने सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख छ ।

प्रत्येक नागरीकले आफ्नो हकको सूचना पाउनका लागि २०६४ को ऐन अनुसार सुचना पाउ भनेर सम्बिन्धत निकायको सुचना अधिकारीलाई गएर निवेदन दिनुपर्ने र त्यस अनुसार कार्यालयले सूचना १५ दिनभित्र उपलब्ध गराउनुपर्नेछ । यदि १५ दिनमा सुचना उपलब्ध नभएमा १६ औ दिनमा त्यही  कार्यालयका प्रमुखमा उजुरी दिने र त्यसको जानकारी थप ७ दिनमा उपलब्ध गराउनुपर्ने ऐनमा उल्लेख भएपनि त्यस अवधिमा पनि  उपलब्ध नभएमा त्यसको भोलीपल्ट अर्थात २३ औ दिनमा सूचना अधिकारी र कार्यालय प्रमुखकोविरुद्धमा सूचना आयोगमा मुद्धा दायर गर्न अर्थात पुनराबेदन दर्ता जारी गर्न सकिने व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update