Shittalpati
पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल

पाल्पा,  पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल सुरु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेकपाका जिल्ला स्तरमा पार्टी एकताका लागि छलफलमा जुटेका हुन् ।

नेपाली प्रगतिशील, साम्यवादी तथा देशभक्त शक्तिहरूबीचको एकता नै क्रान्ति, परिवर्तन र समाजवाद स्थापना गर्ने मुख्य आधार भएको भन्दै पार्टी एकता तथा ऐक्यबद्धताको आह्वान गरिएको जनाएका छन् ।

एकताबद्ध जनशक्ति निर्माण गरेर नयाँ नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई सफल बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरिएको छ ।

नेपाली जनताले राजतन्त्र, निरङ्कुशता, अधिनायकवाद र सामन्तवादविरुद्ध ऐतिहासिक संघर्ष गर्दै आएको स्मरण गर्दै अब वर्गीय, सामाजिक, सांस्कृतिक, लैङ्गिक, धार्मिक, भाषिक र क्षेत्रीय समानतामा आधारित समाज निर्माणको चरणमा अघि बढ्नु पर्नेमा जोड दिइएको छ ।

आह्वानमा भनिएको छ, “नेपाली क्रान्तिकारी शक्तिहरूबीचको एकता, समन्वय र ऐक्यबद्धता मात्र समाजवादी समाज निर्माणको मार्ग हो । विभाजनकारी गतिविधि, संकीर्ण स्वार्थ र अविश्वासबाट मुक्त भई एकताबद्ध संघर्षमा होमिनु आजको अपरिहार्यता हो ।”

विगतमा भएका आन्दोलन, परिवर्तन र उपलब्धिहरूलाई जनताले सुरक्षित गर्नुपर्ने आवश्यकता औंल्याउँदै अपिलमा प्रगतिशील शक्तिहरूबीचको आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउन आह्वान गरिएको छ । साथै, जनताको अपेक्षा पूरा गर्ने गरी सामाजिक न्याय, समानता, लोकतन्त्र र समृद्ध नेपाल निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्न सबैलाई एकताबद्ध हुन आह्वान गरिएको छ ।

पार्टी एकता सम्वन्धी छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेयले एकता प्रक्रियाका लागि छलफल जारी रहेको बताए । यसले तीन पार्टी छिटो भन्दा छिटो एकता गरी नागरिकका हितमा काम गर्ने नेता पाण्डेयले बताए । नेकपा समाजवादीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझीले तीन कम्युनिष्ट एकता प्रक्रियाले कम्युनिष्ट आन्दोलनमा उत्साह ल्याउने बताए । नेकपाका केन्द्रीय सदस्य धिरज सीले नेपालका कम्युनिष्टहरु एकता गरी कम्युनिष्ट पार्टीहरुलाई बलियो बनाउन जरुरी रहेको बताए ।नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विश्वकर्मा, नेकपा समाजवादीका अध्यक्ष अशोक कुमार शाही र नेकपाका सचिव मीन सीको संयुक्त हस्ताक्षरमा कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पाल्पाको आह्वान जारी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update