Shittalpati
गठबन्धन सरकार कुनै पनि हालतमा ढल्दैन : उपप्रधानमन्त्री पौडेल

पाल्पा, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार नढल्ने बताएका छन् । आइतबार नेपाल पत्रकार महासङ्घ पाल्पाले आयोजना  गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने दावी गरेका हुन् । मुलुकका दुई ठूला दलको गठबन्धनको सरकार भएकाले कसैले चाहँदैमा नढल्ने मन्त्री पौडेलाको भनाई छ ।

उनले ०८४ को निर्वाचनसम्म नै  सरकार टिक्ने दावी गरे । “अहिले एमाले, काँग्रेस र अन्य साना दलहरु सहभागी छौं । नीतिगत पृष्ठभूमि र कार्यक्रमिक अवधारणाका आधारमा सहयात्रा बनिरहेको छ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन”, उनले भने, “यो सहयात्रा अहिले नै ढल्दैन, पूर्व सहमतिअनुसार कार्यान्वयन हुन्छ ।” अहिलेको सरकार नै स्थिर सरकारको प्रत्याभूति दिने सरकार भएको मन्त्री पौडेलले बताए । उनले अहिले संसदमा जस्तो अंक  गणित छ यहीबाट राजीनितक स्थिरताको खोजी गर्ने हो भने यही सरकार नै स्थिर सरकारको प्रत्याभूति दिने सरकार भएको उल्लेख गरे । मन्त्री पौडेलले भने“केही अस्थिरता खोज्नेहरुले बेला बेलामा सरकार ढल्दै छ भनेर चिच्याउने गर्दछन् । सरकार कुनै पनि हालतमा ढल्नेवाला छैन । सरकार ढल्छ भन्नेहरु अहिले मुर्जाआइरहेका छन् ।” अस्थिरताको खोजी गर्नेहरुको भविष्य  नभएको समेत उनले बताए । प्रतिगामी, खहरेका रुपमा देखा परेका र मेनस्टिमको राजनीतिमा आएर तर अस्थिरताको खोजी गरिरहेका दलहरुको  भविष्य नभएको मन्त्री पौडेलले दावी गरे । सापेक्षिक रूपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रूपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डो¥याउनेतर्फ सरकार केन्द्रित रहेको उहाँले बताए ।

मन्त्री पौडेलले स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको दाबी गरे । उनले पाल्पाको विकासमा सरकारले बजेटमा समेत प्राथमिकता राखेको बताए । कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक सम्पदाहरुको संरक्षण गरी धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्ने गरी सरकार अगाडि बढेको बताए । उनले पाल्पा सम्भावना बोकेको जिल्ला भएकाले यसलाई उर्वर र समृद्धि बनाउन सकिने भन्दै यहाँका नागरिकहरु जाग्न जरुरी रहेको औल्याए । मन्त्री पाण्डेले भगवती मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्व रहेकाले यसलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । उनले भने “जिर्ण रहेको भगवती मन्दिरलाई राम्रो बनाउन सरकारबाट बजेट सुनिश्चित गरिएको छ ।”  पर्यटनको विकासबाट नै सरकारले समृद्धि हासिल गर्ने गरी अगाडि बढेको मन्त्री पाण्डेको भनाई छ ।महासंघका अध्यक्ष कमलराज तिमिल्सेनाकोअध्यक्षता, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update