Shittalpati
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै 

पाल्पा, भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमदभागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेको छ । आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

श्रीकृष्णलाई महाभारतको युद्धमा मुख्य पात्रको रूपमा लिइन्छ । अत्यन्तै कूटनीति गर्न जान्ने श्रीकृष्णलाई धूर्त र छलीका रूपमा पनि नेवारी समाजमा लिइँदै आइएको छ । हरेक वर्ष कृष्णाष्टमीका दिन विभिन्न कार्यक्रम र जात्रा गरी मान्दै आएका श्रीकृष्णलाई द्वापर युगदेखि मान्दै आएको मानिन्छ । कृष्ण जन्माष्टमीको अर्को दिन पाल्पाको तानसेनमा रणउजेश्वरी भगवतीको जात्रा निकाल्ने गरिन्छ । नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा यहाँ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने परम्परा छ । सोही अनुरुप भदौ १ गते २ सय ६ औं भगवतीको रथ निकाल्न तयारी भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update